काेराेना संकटमा वीरगन्जका डाक्टरहरूले निःशुल्क परामर्श दिने

काेराेना संकटमा वीरगन्जका डाक्टरहरूले निःशुल्क परामर्श दिने

वीरगन्ज, २५ बैशाख । कोरोना महामारीको संकटमा वीरगन्जका डाक्टरहरूले अन्य बिरामीहरूको लागि निःशुल्क परामर्श दिने भएको छ ।  नेपाल चिकित्सक संघ नारायणी शाखाले शनिबार विज्ञप्ति जारी गर्दै संघमा आवद्ध आजीवन सदस्य डाक्टरहरूले कोरोना महामारीका कारण अन्य बिरामीको उपचार सेवा प्रभावित हुन नदिन मोबाइल र टेलिफोन मार्फत निःशुल्क परामर्श सेवा दिने जनाएको छ ।  

सामाजिक उत्तरदायित्वको रूपमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूले मोबाइल र फोन मार्फत बिहान १०:०० बजेदेखि साँझ ४:०० सम्म निशुल्क परामर्श सेवा दिने संघका सचिव डाक्टर उदय नारायण सिंहले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।  परामर्श सेवा दिने डाक्टरहरूको नाम र टेलिफोन नम्बर विवरण  नेपाल चिकित्सक संघ नारायणी वीरगन्ज शाखाले सार्वजनिक गरेको छ ।