छात्रवृत्ति छनोटका लागि गौतम माविद्वारा परीक्षा सञ्चालन
वीरगन्ज, ६ जेठ । जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्न गौतम माद्यामिक विद्यालयले परीक्षा लिएको छ । मधेश प्रदेशमै पहिलो पटक विद्यालयले परीक्षामार्फत छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्न परीक्षक लिएको हो । प्रत्येक संस्थागत विद्यालयले आफ्नो विद्यालयका अध्ययनरत जम्मा विद्यार्थी संख्याको १० प्रतिशतलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था बमोजिम पहिलो पटक गौतम स्कुलले छात्रवृत्तिका लागि परीक्षा लिएको विद्यालयले जनाएको छ ।
शनिवार एलकेजीदेखि कक्षा ८ सम्मका ४०९ जना विद्यार्थीले सहभागिता जनाएका थिए । जसमध्ये १० प्रतिशत गरिब, विपन्न, जेहेन्दार, शहिद परिवार, अपाङ्ग, दलित एवम् पिछडिएको क्षेत्रका विद्यार्थीले प्राप्त गरेको अंकका आधारमा छात्रवृत्ति प्रदान गरिने गौतम माविका कार्यक्रम संयोजक सौराज प्रधानले जानकारी दिनुभयो । यसैबीच शनिवार विद्यालयले लिएको परीक्षाको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले गौतम माविले अपनाएको प्रकृयाको सराहना गर्नुभयो । उहाँले अरु विद्यालयहरुले पनि यस्तै प्रकृयामा गए पारदर्शिता हुने बताउनुभयो । वीरगञ्ज महानगरपालिकाले पनि सबै संस्थागत विद्यालयहरुलाई अनिवार्य रुपमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था गरेको हुँदा सबै विद्यालयले कार्यन्वयन गर्नुपर्ने मेयर सिंहको भनाई छ ।
परिक्षाको अनुगमनमा मेयर सिंहसँगै वीरगञ्ज महानगरपालिकाअन्तर्गत पर्ने शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउत, नेशनल इन्फोटेकका प्रवन्ध निर्देशक मनिष सिंह, मेयरका स्वकीय सचिव सत्यराज घिमिरेलगायतको पनि सहभागिता थियो ।