भिस्वामा एक करोडको लागतमा निर्माण हुने अतिथि गृह भवनको शिलान्यास

भिस्वामा एक करोडको लागतमा निर्माण हुने अतिथि गृह भवनको शिलान्यास

वीरगन्ज, ५ बैशाख । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको बौद्ध धर्मावलम्वीहरुको धार्मिक पर्यटकीय स्थल भिस्वामा अतिथि गृह भवन निर्माणको शिलान्यास गरिएको छ । भिस्वालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि डीपीआर समेत तयार गरेर अतिथि गृह भवनको आज शिलान्यास गरिएको हो ।

भवन निर्माणको मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत र मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले संयुक्त रुपमा गर्नुभएको हो । भिस्वालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार संरचना निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार २२ करोड रुपैया लाग्ने मधेस विश्व विद्यालयका उपकुलपति डाक्टर शाक्यले बताउनुभयो ।

भिस्वामा अतिथि गृह निर्माण  प्रदेश सरकारले छुट्याएको एक करोड रुपैंया बजेटबाट निर्माण गरिने छ । अन्य पूर्वाधार संरचनाका लागि वीरगन्ज महानगरपालिकाले पनि बजेट छुट्याएको छ । भिस्वाको पूर्वाधार संरचना निर्माणका लागि वीरगन्ज महानगरपालिकाले चालू आर्थिक बर्षमा एक करोड रुपैंया बजेट छुट्याएको प्राध्यापक डाक्टर शाक्यले बताउनुभयो ।

भवन निर्माण स्थलको शिलान्यास कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, महानगरका सल्लाहाकार सञ्जय खेतान, प्रकाश अमात्य, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव, बौद्ध सेवा समितिका पदाधिकारी लगायत स्थानीयको समेत उपस्थिति रहेको थियो ।