नेपालका आदिवासी जनजाति समुदायलाई एकआपसमा लडाएर कमजोर बनाईदै छ : उपकुलपति प्रा.डा.शाक्य
नौ सदस्यीय वीरगन्ज महानगर कमिटि गठन
वीरगन्ज, १६ भदौ । मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले नेपालका आदिवासी जनजाति समुदायलाई आपसमा लडाएर कमजोर बनाउने षड्यन्त्रले पहिचान मेटाउन खोजिएको आरोप लगाउनु भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ वीरगन्ज महानगर कमिटि गठनका लागि आयोजना गरिएको भेलामा बोल्दै प्राध्यापक डाक्टर शाक्यले नेपालमा आफ्नै भाषा, संस्कृति, धर्म, संस्कार रहेको आदिवासी जनजाति समुदायको पहिचान मेटाउनका लागि समुदायबीच नै लडाउने काम गरेको बताउनु भएको हो ।
आदिमकालदेखि छुट्टै पहिचान, भाषा, धर्म, संस्कृति, पहिचान र सभ्यता रहेको आदिवासी जनजाति समुदायलाई राजनीतिक रुपमा विभाजित गरी पहिचान मेटाउने षड्यन्त्र गरिरहेकोले त्यसका लागि सबै आदिवासी जनजाति समुदाय एक हुनुपर्नेमा जोड दिनुभयो ।
बदलिँदो समाजसँगै अहिले भाषा संस्कृतिको संरक्षणमा पनि चुनौती थपिएको भन्दै त्यसको लागि संगठित हुनुको विकल्प नरहेको र नेतृत्वमा पनि कुशल व्यक्तिहरुले गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष सोम बहादुर स्याङतान (लामा) को अध्यक्षतामा भएको उदघाटन सत्रमा नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेश कमिटिका बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगर,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इञ्चार्ज नीरज पिठाकोटे मगर, फोनिज पर्साका संस्थापक उपाध्यक्ष जगत राई, नेपाल तामाङ घेदुङका जिल्ला सचिव छेडुप लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच भेलाले रोशनी श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय महानगर कमिटि सर्वसम्मत चयन गरिएको छ । कमिटिको उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, सचिवमा शशिकान्त महतो (धानुक) सहसचिवमा एन्जल चौधरी, कोषाध्यक्षमा अजय कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा राधिका कुमारी गोले तामाङ, सदस्यहरुमा रामबिहारी थारु, सिंह बहादुर राई, थम माया मगर रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगरले सपथ ग्रहण गराउनु भएको थियो ।