नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषदको अधिवेशन माघ २५ गते जनकपुरमा हुने
वीरगन्ज, २० माघ । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषदको प्रथम अधिवेशन माघ २५ गते जनकपुरमा हुने भएको छ ।
पहिचानको आन्दोलनमा निरन्तर क्रियाशील आदिवासी जनजाति महासंघको प्रदेश तदर्थ समिति गठनपछि जनकपुरमा प्रथम प्रादेशिक अधिवेशन गर्न लागेको महासंघका अध्यक्ष मनोज कुमार दनुवारले जानकारी दिनुभयो ।
पर्सादेखि सप्तरीसम्मका आदिवासी जनजातिको जातीय संस्थाबाट प्रतिनिधित्व रहेको महासंघलाई पहिचानको आन्दोलनबाट स्थापित प्रदेश सरकारले नचिनेको भन्दै आदिवासी जनजातिहरुको उपस्थिति मधेस प्रदेशमा पनि रहेको जानकारी गराउन मधेस प्रदेशको राजधानी जनकपुरमा अधिवेशन आयोजना गर्न लागिएको अध्यक्ष दनुवारले बताउनुभयो ।
माघ २५ गते हुने अधिवेशनको तयारीमा आफूहरु जुटेको पनि अध्यक्ष दनुवारले जानकारी दिनुभयो । अधिवेशेनमा मधेस प्रदेशमा बसोवास गर्ने आदिवासी जनजाति थारु, मगर, तामाङ, धानुक, दनुवार, राइ, नेवार लगायतका समुदायबाट प्रतिनिधिहरु सहभागि हुने उहाँले बताउनुभयो ।