वैदेशिक रोजगारबाट फर्किएकाहरु सीपमूलक तालिम लिदै
वीरगन्ज, १ भदौ । वैदेशिक रोजगारीबाट फर्किएका ६० जना महिला तथा पुरुषहरुलाई साना व्यावसाय परामर्श तथा तालिम केन्द्रले निःशुल्क सीप विकास तालिम दिएको छ । धनुषाको ढल्केबरमा २० जना विल्डिङ्ग इलेक्ट्रिसियन, सिराहाको विरेन्द्रबजारमा आल्मुनियम फेब्रिकेटरको २० जना र बाराको निजगढमा नेपाली खाना बनाउने (नेपाली कुजन कुक) को २० जनाले तालिम दिईएको साना व्यावसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक विजय श्रीवास्तवले जानकारी दिनुभयो ।
साना व्यावसाय परामर्श तथा तालिम केन्द्रले मधेस प्रदेशका १०० जना रिटर्नी माईग्रेट अर्थात वैदेशिक रोजगारी गुमाएर नेपाल फर्किएकाहरुलाई तालिम दिने उद्देश्य अनुरुप ६० जनालाई तालिम दिईएको श्रीवास्तवले बताउनुभयो । अहिले विल्डिङ्ग इलेक्ट्रिसियन, आल्मुनियम फेब्रिकेटर र नेपाली खाना बनाउने (नेपाली कुजन कुक) सम्बन्धी तालिम लिइरहेका छन् । ६० जनाको तालिम हाल चलिरहेको र यसपछि पर्साको पर्सागढी नगरपालिकामा २० जना र सर्लाहीको बागमती नगरपालिकामा २० जनाको विल्डिङ्ग इलेक्ट्रिसियन र नेपाली कुजन कुकको तालिम दिने तयारी रहेको उहाँको भनाई छ ।
हरेक दिन दैनिक न्यूनतम ६ घण्टा ३० मिनेट दिईने तालिममा ५ घण्टा ३० मिनेट व्यवहारिक र १ घण्टा सैद्धान्तिक प्रशिक्षण एक महिनासम्म निःशुल्क दिईने र तालिममा सहभागी पुरुषहरुको लागि प्रतिदिन ४ सय ५० को दरले एक महिनाको १३ हजार पाँचसय र महिलाहरुको लागि प्रतिदिन ५ सय ५० को दरले १६ हजार ५ सय यातायात खर्च समेत उपलब्ध गराईने कार्यकारी निर्देशक श्रीवास्तवले बताउनुभयो ।
तालिम पश्चात राष्ट्रिय सीप परीक्षण समितिबाट निःशुल्क सीप परीक्षण गरिनुको साथै तालिम पश्चात स्वरोजगार वा श्रम बजारमा रोजगारीमा जानका लागि ८ हजार २ सयदेखि ९ हजार २ सयसम्मको आधारभूत पेशागत औजार र उपकरणका लागि नगद बैंक मार्फत दिनेपनि उहाँले बताउनुभयो । तालिमपछि सीप विकासको प्रमाण पत्र पाईने र वैदेशिक रोजगारीका लागि तथा नेपालमै स्वरोजगारका लागि पनि उपयोगी हुने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का खिलनाथ काफ्लेले बताउनुभयो ।
सरकारले सीप तथा क्षमता अभिवृद्धि गरी स्वरोजगार बनाउने तथा वैदेशिक रोजगारीमा जानको लागि दक्ष कामदारको तयारी गर्ने उद्देश्यले युएनडीपी स्किल परियोजनाको सहयोगमा तालिमको आयोजना गरिएको गरिएको हो ।