हिन्दु समाज वीरगन्जको प्रदर्शनमा लाठी चार्ज, वीरगन्ज बजार ठप्प

हिन्दु समाज वीरगन्जको प्रदर्शनमा लाठी चार्ज, वीरगन्ज बजार ठप्प

वीरगन्ज, ६ असोज । सर्लाहीको मलंगवाको घटनाको विरोधमा वीरगन्जमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । मलंगवामा भएको घटना हिजो सर्वदलीय बैठक बसेर समाधान गरेको छ । बैठकले सामाजिक सदभाव विथोल्नेलाई कडा कारवाही गर्ने पनि निर्णय भईसकेको छ ।

तर, त्यहि घटनालाई लिएर पर्सामा भने प्रदर्शन गरेको छ । दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै वीरगञ्जको घण्टाघर चोकमा वीरगञ्ज हिन्दु समाजले टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको छ ।

उनीहरुले टायर बालेर प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको छ । अहिले स्थिती नियन्त्रणमा रहेको बताइएको छ । बीरगन्ज हिन्दू समाजले आज वीरगञ्ज बजार पनि ठप्प पारेको छ । सर्लाहीको मलंगवामा भएको दुई पक्षबीचका विवादलाई लिएर आज बीरगन्ज बजार बन्द गरिएको हो ।

सर्लाहीको मलंगवा घटनाको दोषीलाई कारबाही गर्न समाजले माग गरेको छ । बन्दलाई सफल बनाउन बीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुश नगर परिक्रममा गरेको थियो । साँझसम्मको लागि मात्रै समर्थन स्वरुप बजार बन्द गरिएको बीरगन्ज हिन्दू समाजले जनाएको छ । महानगरको मुख्यसडकमा रहेका पसलदेखि लिएर गल्लीमा रहेका साना पसलहरु समेत बन्द गराएका हुन् ।