वीरगन्ज पथलैया सडक विस्तारमा पर्ने ३९ घर भत्काईदै 

वीरगन्ज पथलैया सडक विस्तारमा पर्ने ३९ घर भत्काईदै 

वीरगन्ज । वीरगन्ज–पथलैया व्यापारिक मार्ग विस्तार योजना कार्यालयले त्रिभुवन राजपथ र व्यापारिक मार्गमा पर्ने जितपुरदेखि ड्राईपोर्टसम्मका ३९ वटा घर भत्काउन थालेकोे छ ।

व्यापारिक मार्ग विस्तार योजना कार्यालयले विस्तार गरिरहेको सडकमा पर्ने घरहरु भत्काउन शुरु गरेको हो । व्यापारिक मार्ग विस्तार योजनाको सडकमा पर्ने घरहरु भत्काउन नमान्दा लामो समयदेखि सडक विस्तारको काममा अवरोध हुदै आएको थियो ।

सडक विभाग होटौंडाले हेर्दै आएको त्रिभुवन राजपथ अन्तर्गतको सडक २०७६ साउन १६ गते व्यापारिक मार्ग विस्तार योजना कार्यालयको जिम्मेवारीमा रहने सडक विभागले निर्णय गरेको थियो । योजना कार्यालयले सडकमा पर्ने घर टहरा हटाउन पटक पटक सार्वजनिक सूचना जारी गरेको थियो ।

त्यसपछि त्रिभुवन राजपथ अन्तर्गतको परवानीपुर सडकखण्डको १९ वटा,  जितपुरको १७ वटा घर सडक विस्तार आयोजना कार्यालयले भत्काएको हो । १५ दिने सूचना जारी गर्दा समेत अटेर गर्नेहरुको घर टहरा योजना कार्यालयले भत्काउन शुरु गरेको सडक विस्तार योजना कार्यालयका प्रमुख मनिष कुमार साहले बताउनुभयो ।

चैत १ गतेदेखि १५ गतेसम्म घर टहरा हटाउन समय दिएको भएपनि नहटाएपछि चैत १६ गतेदेखि हटाउन डोजर र एस्काभेटर चलाईएको प्रमुख साहले बताउनुभयो । उहाँले सडक ऐनले व्यावस्था गरेको कानूनी प्रावधान अनुसार नै सडकमा रहेका घर टहराहरु भत्काईएको बताउनुभयो ।

सडक योजना कार्यालयले दिएको समयावधिमा घरधनी आफैले नभत्काए सडक विस्तार योजना कार्यालयले भत्काउन परे त्यसको जरिवाना सहित लिएर सडक योजना कार्यालयले भत्काउने साहले बताउनुभयो ।