वीरगन्जमा अन्तराष्ट्रिय स्तरको प्रो क्लब च्याम्पियनशिप क्रिकेट प्रतियोगिता हुने
वीरगन्ज, ५ मंसिर । बीरगंजमा पुष ५ गतेदेखि अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । पर्सा क्रिकेट संघको आयोजनामा प्रो क्लब च्याम्पियनसीपको दोश्रो संस्करणको रुपमा बीरगंजमा प्रतियोगिता हुने संघले हिजो पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
पुष ५ गतेदेखि १४ गते (December 21-30) सम्म बीरगंजको नारायणी क्रिकेट मैदानमा प्रतियोगिताको १९ खेल हुनेछ । ६ वटा प्रिमियर घरेलु र अन्तराष्ट्रिय क्लबहरुको सहभागिता सुनिश्चित भएको र अन्यका बारेमा औपचारिक निर्णय हुन बाँकी रहेको संघका अध्यक्ष मनिष सिंहले जानकारी दिनुभयो ।
प्रतियोगिताको ब्यवस्थापन भने प्रो क्लब च्याम्पियनसीपका प्रवद्र्धनकर्ता जोहरा इन्टरनेशनलले गर्ने छ । प्रतियोगिताको संचालनले पर्सा क्रिकेटको एउटा राम्रो सम्भावना भएको क्षेत्रको रुपमा स्थापित हुने प्रतियोगिताका निर्देशक दाउद अन्सारीले बिश्वास ब्यक्त गर्नुभयो ।
प्रतियोगिताले बीरगंजको ब्यापारमा बिकास र पर्यटनलाई समेत प्रर्वद्धन गर्न योगदान दिने अन्सारीको दावी छ । क्रिकेटको यत्रो सम्भावना भएको बीरगंजमा रहेको नारायणी रंगशाला प्रति प्रदेश तथा संघ सरकारको बेवास्ता चाही क्रिकेटको बिकासमा अवरोधक बनेको संघका अध्यक्ष सिंहको भनाई छ ।
प्रतियोगिताको माध्यमले रंगशालाको निर्माणमा संघ तथा प्रदेश सरकारको ध्यान पुगोस भन्ने अभिप्राय आफूहरु रहेको उहाँले बताउनुभयो । यस क्षेत्रको क्रिकेटप्रति बिश्वास र भरोसा जागृत हुने गरि प्रतियोगिता संचालन गर्न संघले सबैले सबै प्रकारको सहयोग आवश्यक रहेको यसमा बीरगंजबासीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
प्रतियोगिताको निरन्तर संचालनले राष्ट्रिय स्तरका खेलाडीहरुको बिकास हुने भन्दै संघका अध्यक्ष सिंहले राष्ट्रिय टिममा बीरगंजका खेलाडीहरुको निरन्तर उपस्थितिलाई निरन्तरता मात्रै होईन नेतृत्व गर्ने क्षमताको विकास गर्न सकिने बताउनुभयो ।
खेलाडीहरुलाई अनुभवी बनाउने, खेलका सीपहरु हस्तान्तरण गर्ने खेल प्रति उनीहरुको आकर्षण बढाउने तथा पर्सामा खेल पूर्वाधारको बिकासमा महत्वपूर्ण योगदान दिने गरि प्रतियोगिताको आयोजना गरिएको संघका सचिव घनश्यामबाबु गुप्ताले बताउनुभयो ।
पर्सा क्रिकेट संघले पीसीसी परियोजना स्वीकृत गरेकोले प्रतियोगिताको आयेजना, उत्पादन र खेल सम्बन्धी ब्यवस्थापन भने पीसीसीको हुने पीपीसीकी प्रतिनिधि स्नेभी चापागाईले जानकारी दिनुभयो । यसअघि २०२२ मार्चमा प्रो क्लब च्याम्पियनसिपको पहिलो संस्करण भैरहवामा आयोजना गरिएको चापागाँइले जानकारी दिनुभयो ।