सेकेण्ड फेलोशिप क्रिकेट प्रतियोगिताको उपाधि पत्रकार महासंघ पर्साले जित्यो 

सेकेण्ड फेलोशिप क्रिकेट प्रतियोगिताको उपाधि पत्रकार महासंघ पर्साले जित्यो 

वीरगंज, २ पुष । सेकेण्ड फेलोसिप क्रिकेट प्रतियोगिता २०२२ को उपाधि नेपाल पत्रकार महासंघ पर्साले उचालेको छ । वीरगंज स्थित ज्ञानदा एकडेमीमा शनिबार आयोजित प्रतियोगितामा रोटरी क्लबलाई ९ बिकेटले हराउदै  महासंघ बिजयी भएको हो । ६ ओभरको खेलमा रोटरी क्लबले दिएको ६२ रनको लक्ष्य महासंघले ३ बल अगाडि नै १ बिकेटको क्षतिमा पूरा गरेपछि खेल उपाधि उचाल्न सफल भएको हो ।

प्रतियोगितामा सफल खतिवडा, सद्दाम हुसेन र अरबिन्द पटेलले आक्रमक ब्याटिङ्ग गरेका थिए । महासंघको तर्फबाट कप्तान भूषण यादवको चौका प्रहारले खेलमा जित सहज बनाएको थियो । प्रतियोगितामा महासंघको टिममा आरोहण साह, राम मेहता, बिनय कुशवाहा, कृष्णा कुशवाहा, आनन्द पटेल, तिवारी यादव लगायतले खेलेका थिए ।

बैंकर एशोसियनलाई पराजित गर्दै सुखद सुरुवात गरेको महासंघले सेमिफाईनलमा वीरगंज उद्योग वाणिज्य  संघलाई पराजित गरि फाईनमा प्रवेश गरेको थियो । प्रतियोगितामा तीन वटै खेलको म्यान अफ दि म्याच र म्यान अफ दी सिरीज महासंघका सद्दाम हुसेनले प्राप्त गरे ।

बलिङ्गतर्फ सदाम हुसेनले ह्याट्रीक लिदै प्रतियोगितामा कूल ६ बिकेट लिदै ३२ रनको योगदान दिए । त्यस्तै प्रतियोगितामा सफल खतिवडाले २ तथा अरबिन्द पटेल र बिनय कुशवाहाले एक एक बिकेट लिए ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,सहसचिव जितेन्द्र साह, कोषाध्यक्ष संजिव मिश्रा, बरिष्ठ पत्रकार बिजय कुशवाहा, तुलसी भण्डारी ,प्रेस चौतारी पर्साको कोषाध्यक्ष राकेश साह लगायतको उपस्थिती थियो । नेपाल युवा उद्यमी मञ्च (एनवाईईफ) र वीरगंज बैंकर्सको  आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो ।