कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीको जीराभवानीमा सरुवा
वीरगन्ज, १७ जेठ । कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीको जीराभवानी गाउँपालिकामा सरुवा भएको छ । कालिकामाई गाउँपालिकामा कार्यरत रहँदा कार्यालयमा नजाने गरेको, सेवाग्राहीको काम नगरेर दुख दिने गरेको गुनासो आएपछि गिरीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो ।
गिरीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहको दरबन्दीमा रहनेगरी जीराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाजमा खटाएको मन्त्रालयका शाखा अधिकृत टेक प्रसाद भट्टराईले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।
गिरीलाई कालिकामाई गाउँपालिकामा रहँदा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुसँग समन्वय नगरी आफूखुशी काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । लामो समयदेखि स्थानीय तहमा बसेर काम गरेका उनीमाथि स्थानीय तहका जनताको भने भरोसा टुटेको छ । जगरनाथपुर गाउँपालिका र पोखरिया नगरपालिकाको समेत प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका उनले सेवाग्राहीको काम सहज रुपमा नगर्ने गरेको आरोप छ ।
पोखरिया नगरपालिकामा कार्यरत रहँदापनि उनी कार्यालयमा नजाने, मोबाईल अफ गरेर बस्ने र कतिपय सेवाग्राहीहरुको फोन नउठाउने गरेको थुप्रै गुनासोहरु आउने गरेको थियो । नेकपा एमाले हुदैदेखि निजामति कर्मचारी संगठनको अध्यक्ष समेत रहेका बेला उनी त्यहि दम्भमा आफूलाई कसैले सरुवा गर्न नसक्ने भन्दै स्थानीय तहका राजनीतिक दलका नेताहरुलाई चुनौती दिने गरेका थिए ।
कालिकामाई गाउँपालिकामा पनि माओवादी केन्द्रका गाउँपालिका सचिव इशक कुमार पासवानसँग विवाद भएपछि उनले सरुवा गरेर देखाउन चुनौती नै दिएका थिए । त्यहि दिनदेखि नेकपा माओवादी केन्द्रको कालिकामाई गाउँपालिका सचिव इशक कुमारले उनको सरुवा गर्न लागि परेका थिए । उनैको कारणले गिरीको सरुवा भएको पनि गाउँपालिकामा चर्चा चलेको छ ।
स्थानीय तहमा कार्यरत रहँदा व्यापक अनियमितता गरेको आरोप लागेपछि उनी केही महिना नारायणी सिँचाई डिभिजन कार्यालयमा सरुवा भएका थिए । त्यसपछि फेरी उनले स्थानीय तहलाई नै रोजेका छन् ।