तिलावे पुल निर्माणको लागि दबाव दिन युवाहरुले राजनीतिक दलहको ध्यानकर्षण गराए
वीरगन्ज, १६ कार्तिक । पर्साको ग्रामीण क्षेत्रलाई सदरमुकामसँग जोड्ने तिलावे पुल निर्माणमा ढिलासुस्ती भएको भन्दै तत्काल निर्माण गर्न माग गर्दै युवाहरुले राजनीतिक दलहरुलाई समेत ध्यानाकर्षण गराएका छन् ।
तिलावे पुल निर्माणमा ठेकेदारले लापरवाही गरेको भन्दै विभिन्न विरोध कार्यक्रमहरु गर्दै आएको तिलावे पुल निर्माणका लागि दबाव समूहले जनतासँग भोट माग्न जाने नेताहरुलार्इ पनि बोध गराउनका लागि युवाहरुले ध्यानाकर्षण गराएका हुन् ।
पर्सावासीले दिनहुँ भोगी रहेको सास्तीको बारेमा नेताहरूलाई जानकारी गराउनका लागि पर्साका सबै राजनीतिक दलका प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
तिलावे पुल निर्माणमा राजनीतिक दलहरुले पनि ठोस कदम नचाले युवाहरुले अर्को कदम उठाउन बाध्य हुने जानकारी समेत गराएको युवा समूहका राकेश यादवले बताउनुभयो ।
एउटा भ्रष्ट ठेकदारले सम्पूर्ण पर्सावासीलाई सास्ती दिएको र आफूलाई समाजमा स्वच्छ, ईमान्दार देखाउन खोजेको भन्दै अब गाउँ गाउँमा गएर ठेकेदारको विरुद्धमा भण्डाफोर गर्ने तयारीमा लागेको उहाँले बताउनुभयो ।
तिलावे पुलमा हुने जाम कै कारण कसैको ज्यान जानु हुन्न भन्ने युवाहरुको चाहाना रहेकोले समाजका हरेक निकायलाई बराबर खबरदारी गर्दै आएको युवाहरुको भनाई छ ।
ठेकदारहरुको निर्माणमा जुनै ठाउँमा पनि जनताले भौतिक क्षति समेत गरी तिलावे पुल निर्माणको लागि दबाब दिने मनसाय बनाइ सकेकोले सचेत गराएको बताएका छन् । जनता नै सर्बोपरि भएको र जनतालाई पीडामा पारेर ठेकेदारहरु मोजमस्तीमा रमाईरहेको आरोप लगाए ।
उनीहरुले राजनीतिक दल र तीनका नेताहरुले नै ठेकेदारलाई पनि संरक्षण गर्ने भएकोले जनताको दुःखलाई बुझुोस भनेर ध्यानाकर्षण पत्र बुझाएको बताए ।
यसअघि तिलावे पुल निर्माण स्थलबाट विरोधको कार्यक्रम शुरु गरेको युवा समूहले वीरगन्जमा हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारीलाई पनि ध्यानाकर्षण गराई सकेका छन् ।
युवाहरुले नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टीका जिल्ला अध्यक्षहरुलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।