प्रेम र अवैध सम्बन्धले बारामा मौलाएको अपराध सुरक्षा चुनौती होईन ?
प्रेम र अवैध सम्बन्धले तीन तीन जनाको हत्या भएर अपराध मौलाएर सुरक्षा चुनौती बढेपनि स्थानीय प्रशासनलाई भने बारामा सुरक्षा चुनौती नरहेको जस्तै लागि रहेको छ । कलैयाका रुपेश स्वर्णकारको घटनाको विषयमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सञ्चार माध्यममा दिएको प्रतिक्रियाले प्रेममा मौलाएको अपराधलाई सुरक्षा चुनौती नमानेको बुझिन्छ ।
घटना १ : असोज ९ गते बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मीनियाँमा नेपाल–भारत सीमाभन्दा करिब ७०० मिटर नेपालतर्फको भूभागमा लक्ष्मिनिया स्थित पोखरी नजिकै भारतको मोतिहारी, दर्पा थाना–१, सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहको छोरा अन्दाजी २२ बर्षका अजित कुमार सिंहको गोली प्रहार गरी हत्या भएको थियो ।
उक्त घटनामा संलग्न भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१ सुक्लहिया बस्ने वर्ष २५ को सुजित कुमार सिंह, सोही स्थान बस्ने वर्ष २४ को चञ्चल पाञ्डे, वर्ष २२ का मनिष कुमार सहनी र वर्ष २० को कामेश्वर सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।
अजित कुमारसँगै दुईवटा अनटेष्ट मोटरसाईकलमा नेपाल प्रवेश गरेका उनीहरु बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मिनिया स्थित पोखरी नजिक आईपुगेपछि एउटै बाईकमा पछाडि बसेका सुजित कुमार सिंहले अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेर अनटेष्ट मोटरसाईकलमा भारततर्फ भागेको बाराका प्रहरीको भनाई छ ।
उक्त घटनामा मृतक अजितकी श्रीमतीको सुजित कुमार सिंहसँग अवैध सम्बन्धकै कारणले अजितको हत्या भएको प्रहरी अनुसन्धानबाट निष्कर्ष निस्किएको छ ।
घटना २ : असोज ७ गते बाराकै पँचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ बर्षीय अमरेश कुमार सिंहको शव फेला परेको थियो ।
अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको थियो । सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको थियो ।
पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ । मारिएका अमरेशले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई इलाका प्रहरी कार्यालय सिम्रौनगढमा निवेदन पनि दिएकामा दुवै पक्षलाई छलफलका लागि बेलाएको भए पनि सुतिरहेको अवस्थामा घरमा गई अमरेशलाईलाई बोलाएर दशगाजातर्फ लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनको हत्या हुनुको कारण मदिरा सेवन भनिएपनि उनको पनि गाउँकै महिलासँगको सम्बन्धका कारणले हत्या भएको बुझिएको छ । उनको व्यक्तिगत आँचरण खराब भएकै कारणले उनको हत्या भएको स्थानीयको भनाई छ ।
घटना ३ : कार्तिक १३ गते दिउँसो बाराको कलैया उपमहानगरपालिको मदरशा स्कुल नजिकै रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश स्वर्णकार उर्फ ‘गुड्डु’ को गोली प्रहार गरी हत्या भएको छ ।
नास्ता खाएर विद्यालय जाँदै गरेका उनलाई भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाईकलमा आएका चारजनाको समूहले रुपेशलाई टाउँको र छातीमा तीन राउण्ड गोली प्रहार गरेर फरार भएका थिए । उनको हत्याको कारण पनि प्रेम सम्बन्धकै कारणले भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनामा संलग्न रहेको आशंकामा १ जना महिला सहित ६ जनालाई पक्राउ गरेको छ ।
उनीहरुमाथि अनुसन्धान भईरहेको छ । प्रहरीले घटनाको विस्तृत जानकारी नगराएपनि प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धकै कारणले रुपेशको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । यद्यपि बारा प्रहरीले मात्रै नभई मधेस प्रदेशबाट पनि प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा अनुसन्धान टोली खटिएर अनुसन्धान गरिरहेको छ ।
प्रहरी अनुसन्धानको अन्तिम निष्कर्ष नजिक पुगेको र विस्तृत जानकारी भने बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर दिने जनाएको छ ।
३७ दिनको अन्तरालमा बारा जिल्लामा तीनजनाको हत्या भएको छ । दुईजनाको गोली प्रहारबाट र एकजनाको धारिलो हतियारबाट हत्या भएको हो । तीनवटै घटना झण्डै उस्तै उस्तै छ । महिलासँगको सम्बन्ध ।
प्रेम र अवैध सम्बन्धले तीन तीन जनाको हत्या भएर अपराध मौलाएर सुरक्षा चुनौती बढेपनि स्थानीय प्रशासनलाई भने बारामा सुरक्षा चुनौती नरहेको जस्तै लागि रहेको छ । कलैयाका रुपेश स्वर्णकारको घटनाको विषयमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सञ्चार माध्यममा दिएको प्रतिक्रियाले प्रेममा मौलाएको अपराधलाई सुरक्षा चुनौती नमानेको बुझिन्छ ।
उनले भनेका छन्, ‘युवतीसँगको प्रेम सम्बन्धमै हत्या भएको निष्कर्ष छ ।’ बाराको सदरमुकाम कलैयामा रहेको जिल्लाको प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालयबाट करिब ५÷६ सय मिटरको दूरीमा रहेको व्यस्त ठाउँमा दिनदहाडै गोली प्रहार गरी हत्या हुँदा स्थानीयमा भने त्रास फैलिएको छ ।
शान्ति क्षेत्र भनिएको विद्यालय नजिकै गोली प्रहार हुँदा पनि पनि प्रशासनलाई भने प्रेम सम्बन्धकै कारणले घटना भएको भन्दै सुरक्षा चुनौती नरहेको तर्कले नागरिक थप चिन्तित बनेका छन् । घटनापछि बारा प्रहरी प्रतिक्रिया विहिन छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी दधिराम न्यौपानेको फोन पटक पटक गर्दा समेत नउठाउँदा प्रहरीको अुनसन्धान प्रगतिको बारेमा सहज सूचना पाउन सकेको छैन ।