नेपाली कृषिजन्य उत्पादनको व्यापारलाई छठको भर

वीरगन्ज, २ मंसिर । वैदेशिक व्यापारको आयातबाट अर्थतन्त्र धानेको नेपालमा नेपाली कृषिजन्य उत्पादनले खासै ठाउँ पाउने गरेको छैन । यसपटकको छठमा भने वीरगन्जमा नेपाली कृषिजन्य उत्पादनको व्यापारलाई भरथेग गरिदिएको छ । दशैं तिहार लगायतका चाडवाडमा प्रयोग गरिने मसलाजन्य वस्तुहरुमा आयातमै निर्भर रहनुपरेको थियो ।
नेपालमै उत्पादन बढी भएपछि तिहारमा आवश्यक पर्ने फूल र माला यसपटक आयात नगर्न नेपाली फूल व्यावसायीले आग्रह गरेपछि सरकारले भारतीय फुलको माला आयात हुन नदिएपनि नेपालमै उत्पादन भएको फूलले भने बजार पाउन सकेन । तिहारमा फूलको माला बिक्री नभएपछि अहिले आयुर्वेद औषधि उत्यादनका लागि कच्चा पदार्थको रुपमा निःशुल्क दिनुपरेको तितो अनुभव नेपाली फूल व्यावसायीहरुसँग छ ।
तराई मधेसमा अत्यन्त निष्ठापूर्वक मनाईने छठ पर्वले भने यसपटक नेपाली किसानको उत्पादनलाई भरथेग गरेको छ । छठपर्वमा कृषिउपजलाई प्रसादका रूपमा स्वीकार गरेको छ । झन्डै ७२ प्रकारका कृषिउपजको छठ पूजामा प्रयोग गरिन्छ । यसले हराउँदै गएको नेपालको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराएको छ ।
छठ सुरु हुनु अघिदेखि नै ठेकुवाका लागि बजारमा गहुँ, चामल, सक्खरको खोजी बिक्री वितरण हुने गरेको छ । छठ पूजामा प्रयोग गरिने सामग्री अधिकांश कृषि उपजहरु हुन्छन् । त्यसमध्य स्याउ र केरा भारतबाट आयात हुने गरेको छ । तर, यसपटक वीरगन्जमा नेपालकै कृषिजन्य उत्पादनले बजार पाएको वीरगन्ज तरकारी तथा फलपूmल व्यावसायी संघका अध्यक्ष विदुर गुप्ताले बताउनुभयो ।
उहाँका अनुसार यसपटक वीरगन्जमा छठमा प्रयोग हुने छठका सबै कृषिजन्य सामग्री बारा, पर्सा, रौतहट र नेपालकै जिल्लाहरुबाट आएका छन् । उखु, चामल, केरा जस्ता दर्जनौं नेपाली कृषिउपजले यसपटकको छठमा मुख्य स्थान पाएको गुप्ता बताउनुहुन्छ । वीरगन्जमा शनिबार सम्ममा २५ वटा पिकअप केरा, २० वटा भन्दा बढी पिकअप सुन्तला, ३५ देखि ४० वटा पिकअप कागती, २० देखि २५ गाडी अदुवाको गाडी नेपालकै आएका छन् ।
स्याउ चाहिँ चिनिया बढी आएको छ । ४÷५ वटा पिकअप गाडी मात्र चक्लेटी स्याउ भारतबाट आएको अध्यक्ष गुप्ताले बताउनुभयो । छठ पर्वमा किसानले आफ्नो बारीमा फलाएका कृषि उपज बिक्री हुने भएकोले यसपटकको छठ पर्वमा कृषि उत्पादनले वीरगन्जको व्यापारलाई चलायमान गरिदिएको छ । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने र आर्थिक समृद्धि ल्याउने कृषि नै भएको र छठ पर्वले कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक विरेन्द्र प्रसाद साह बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “खास गरेर नेपालको जतिपनि धार्मिक तथा सांस्कृतिक पर्व र परम्पराहरु छन् । ती सबै कृषि उत्पादनसँग जोडिएका छन् । विश्व भूमण्डलीकरण अघि र पूरानो परम्परा कृषि उत्पादनकै प्रयोगले पर्वहरु मनाउदै आएको पाईन्छ । खाने परिकारदेखि भाडाकुराहरु पनि स्थानीय उत्पादन नै प्रयोग गर्ने गरिएको छ । पर्वहरु शुद्धताको प्रतीक पनि भएकोले एकपटक प्रयोग गरेपछि त्यसको पुन प्रयोग गर्दा शुद्धता नहुने मान्यताले पनि स्थानीय किसानले उत्पादन गरेका कृषि उपजहरुले बजार पाउने र अर्को बर्ष फेरी लगाउछन् ।”
किसानले उत्पादन गरेको कृषि उपजहरु नेपाल भित्रै बिक्री हुने र पैसा पनि नेपाल भित्रै रहनु तथा यसले एकता, हार्दिकता, सामुहिकता र अर्थ सामाजिक सम्बन्धलाई पनि बलियो बनाउने प्राध्यापक सहको बुझाई छ । नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि यस्ता परम्परादेखि मनाउदै आएका चाडपर्वहरुको प्रवद्र्धन गरी कृषि उत्पादनमा प्रोत्साहन गर्न राज्यको नीति सही हुनेपर्ने उहाँको भनाई छ ।