लोपोन्मुख धाँगड समुदायको संस्कृति प्रवद्र्धन अभियान शुरु

लोपोन्मुख धाँगड समुदायको संस्कृति प्रवद्र्धन अभियान शुरु

बीरगंज १७ फागुन ।  लोपउन्मुख जातिको रुपमा सूचिकृत तराईमा बसोवास गर्ने धाँगड जातिको धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न वीरगंजमा ‘धाँगड समुदायको संस्कृति प्रबद्र्धन’ अभियान शुरु भएको छ । 

‘हाम्रो संस्कृति हाम्रो अभियान, धाँगड समुदायको संस्कृति प्रबद्र्धनमा युवाको अभियान’ कार्यक्रम अन्तरगत सोमबार वीरगंज महानगरपालिका वडा नम्बर ३१ सोलकपुरमा धाँगड समुदायको भेषभूषा, संस्कृति र परम्पराको झाँकी, नृत्य प्रस्तुत गरिएको थियो । 

वीरगंज महानगरपालिका, एसियन फर पिस रिसर्च एण्ड डेभलम्पमेन्ट, शान्ति मेलमिलाप केन्द्रद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले उद्घाटन गर्दै लोपउन्मुख जातिको धर्म, संस्कृतिलाई संरक्षण गर्दै विश्व माझ आफ्नो मौलिक प्रस्तुति देखाउन सके पर्यटनलाई आकर्षित गर्दै आय आर्जन समेत गर्न सकिने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा वक्ताहरुले लोपउन्मुख धाँगड समुदायको  संस्कृति, परम्पराको संरक्षण गर्दै नेतृत्व तथा क्षमता विकासका लागि आर्थिक, सामाजिक र राजनैतिक सशक्तिकरणको आवश्यकता रहेको कुरामा जोड दिएका थिए ।

लोपउन्मुख जनजातिको रुपमा रहेका धागड समुदायको भेषभुषा, रितिरिवाज, धर्म संस्कृतिको प्रचार प्रसारमा संचारकर्मीहरुको भूमिका समेत महत्वपूर्ण रहेको बताएका थिए ।

अल्पसंख्यक पिछडिएको जनजातिको रुपमा रहेको धागड समुदायको वीरगंज महानगरपालिका वडा नम्बर ३१ र ३२ मा बसोवास रहेको छ । शान्ति मेलमिलाप श्रोत केन्द्र पर्साका अध्यक्ष रमाकान्त चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानिय बुद्धिजीवी, संचारकर्मी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।