कुम्हार समुदायको पुर्ख्यौली पेशाको संरक्षण र सम्वर्द्धनआवश्यक छ : नगर प्रमुख सरावगी
वीरगन्ज, १५ कार्तिक । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कुम्हार समुदायको पुर्ख्यौली पेशाको संरक्षण र सम्वर्द्धनमा आवश्यक रहेको बताउनु भएको छ ।
हिन्दुहरुको पर्व दिपावली तथा छ्ठ पर्वमा प्रयोग गरिने माटाका पूजा सामग्री विक्री स्थलको आज उदघाटन गर्दै कुम्हार समुदायको पुख्र्यौली पेशा सांस्कृतिक, धार्मिक, सामाजिक तथा आर्थिक विकास र पर्यावरणका लागि पनि निकै महत्वपूर्ण रहेको बताउनु भएको छ ।
तराइ कुम्हार समाज नेपाल जिल्ला तथा नगरकार्य समितिले हिन्दुहरुको महान चाड दिपावली र छठको अवसरमा घण्टाघरमा आज अयोजना गरिएको माटाका सामग्री विक्री स्थलको उदघाटन गर्दै उहाँले कुम्हार समुदायले सुरु गरेको अभियान सामुदायिक हितको लागि उदाहरणीय रहेको बताउनु भएको छ ।
कुम्हार जातिले हातले बनाएका माटाका सामग्रीहरु यसपटक वीरगन्जको घण्टाघरमा एकै स्थानबाट विक्री वितरण शुरु गरेको छ । कुम्हार जातिले हरेक बर्ष दिपावली र छठमा माटाका विभिन्न प्रकारका भाडाहरु बनाएर वीरगन्जमा विक्री वितरण गर्ने गरेका छन् । यसपटक भने समाजले नै एकै स्थानबाट विक्री वितरण गर्न थालेको हो ।
उपभोत्तावादी समाज र आधुनिक प्रविधिले संकटमा पर्दै गएको माटोको भाडाँ बनाउने कुम्हार समुदायको पुख्र्यौली संरक्षणका लागि संस्थागत रुपमा नै कुम्हार समुदाय लागि परेको तराई कुम्हार समाज पर्साका अध्यक्ष चन्द्रशेखर पण्डितले बताउनुभयो ।
कुम्हार सहुदायले दियो, कलश, हात्ती लगायतका विभिन्न पूजा सामग्रीहरु तथा घरायसी माटाका भाडाहरु घण्टाघरमा विक्री स्थल बनाएर विक्री गर्न थालेको हो । यसका लागि महानगर प्रमुख विजय कुमार सरावगीले वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फको सडकछेउमा तीनकठ्ठा जग्गा समेत उपलब्ध गराईदिनु भएको छ ।
सोही स्थानमा नगर प्रमुख सरावगीले आज माटाको भाडा विक्री स्थल उदघाटन गर्नुभएको हो । उदघाटनपछि नगरप्रमुख सरावगीले दिपावलीमा आफ्नो घरायसी प्रयोजनका लागि आवश्यक माटोले बनाईएको समान पनि खरीद गरि कुम्हार समुदायको सीप र पेशालाई प्रोत्साहन पनि गर्नुभएको छ ।
उहाँले अरुलाई पनि विभिन्न रसायनयुक्त झिलीमिली बत्तिहरु खरिद गर्नुभन्दा दिपावलीमा प्रयोग हुने हातले नै बनाएको माटोको पूजा सामाग्री लगायतका घरायसी समान खरीद गर्न अपिल पनि गर्नु भएको छ । माटाका सामानहरु बिक्रि वितरण गर्नको लागि बिरगंज माहानगरपालीकाले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएको हो ।