वीरगन्जमा भव्य रुपमा मनाईयो सोनाम ल्होछार

वीरगन्जमा भव्य रुपमा मनाईयो सोनाम ल्होछार

वीरगन्ज, ९ माघ । तामाङ समुदायको नयाँबर्ष सोनाम ल्होछार वीरगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । वीरगन्जको भिस्वा स्थित टाँसी साङ थर्वालिङ्ग बौद्ध गुम्बा समितिको आयोजनामा सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा ल्होछार मनाईएको हो ।

सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उदघाटन गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रमको उदघाटन गर्दै महानगर प्रमुख सिंहले सबै जातजाति, समुदाय र धर्म संस्कृतिको रक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा वीरगन्ज विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश इञ्चार्ज नीरज पिठाकोटे, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

टाँसी साङ थर्वालिङ्ग बौद्ध गुम्बा समितिका अध्यक्ष राम बहादुर थोक्करको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति पर्साका सहचिव छेडुप लामाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सन्नी पाख्रिनले गर्नुभएको थियो ।

त्यसअघि आईतबार वीरगन्जमा शान्ति र्‍याली निकालिएको थियो । भिस्वा स्थित टाँसी साङ थर्वालिङ्ग बौद्ध गुम्बा समितिको आयोजनामा आईतबार बिहान वीरगन्जको माईस्थानबाट निकालिएको र्‍याली घण्टाघर, लिंक रोड, बसपार्क, त्रिशुल चोक हुदै भिस्वा डाँडामा रहेको गुम्बामा पुगेर समापन भएको थियो । र्‍याली समापन पश्चात बिहान साढे ९ बजेदेखि पूजा अर्चना गरिएको थियो ।

त्यसैगरि बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३  रामवनमा २८५९ औँ सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम गरिएको छ । उर्केटसी छोलङ्ग गुम्बाको आयोजनामा भएको कार्यक्रमको उद्घाटन बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ(किसान) ले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्नु हुँदै पूर्व मन्त्री  श्रेष्ठले  बिभिन्न जातजातीको भौगोलिक अवस्था अनुसार चाड पर्व रहेकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो मौलिक भेषभुषा छाडेर पश्चिमा धर्म, सँस्कृति अँगाल्ने प्रवृत्ति बढेकाले यसलाई त्याग्नुपर्नेमा धारणा राख्नुभयो । साँस्कृतिक कार्यक्रममा मौलिक भेषभुषामा सजिएका युवायुवती तथा कलाकारहरुले नृत्य र गित सँगित प्रस्तुत गरेका थिए ।