दशैंको बजार रक्सोलमा भीड, वीरगन्जमा सुनसान 

दशैंको बजार रक्सोलमा भीड, वीरगन्जमा सुनसान 
वीरगन्ज, २७ असोज । चाडपर्व नजिकिदै गर्दा वीरगन्जको बजारमा भने रौनक देखिएको छैन । आर्थिक मन्दी र आकाशिएको महंगीले गर्दा वीरगन्जको व्यापार यतिखेर खस्किएको छ ।
सीमावर्ती भारतको सहर रक्सोलमा भने सामान किन्न जाने नेपाली उपभोत्ताहरुको भीड थामीसक्नु छैन । तर, रक्सोलनमा पनि विगतको भन्दा ग्राहक कम आउने गरेको रक्सोलका व्यावसायीहरुले बताउने गरेका छन् । 
कोरोना महामारीको समयमा नाका बन्द भएपछि धेरै नेपाली उपभोत्ताहरुको नेपालमै सामान किन्ने बानी बसिसकेको थियो । नेपाली उपभोत्तालाई चाहिने खाद्यान्न र दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा रक्सोल र नेपालमा पनि धेरै फरक पर्ने गरेको छ । पहिले नेपाली ग्राहकहरु रक्सोल जाँदाखेरी भारतीय रुपैंयाको ‘बाटा’ सटही गर्दा लिईने शुल्क पनि तिर्नुपर्ने हुन्थ्यो ।
अहिले भारतीय मुद्रा भन्दा नेपाली मुद्रा अनौपचारिक रुपमा बलियो भएको छ । भारतीय मुद्राको स्थिर विनियम दर १०० को नेपाली १६० रुपैंया हुने गरेपनि अहिले भारतीय बजारमा नेपाली रुपैंया १५५ रुपैंया भएको छ । त्यसैले पनि नेपाली ग्राहकहरुको रक्सोलनमा भीड लाग्ने गरेको हो । 
तर, पहिले जस्तो चितवन, हेटौंडा र काठमाडौंका ग्राहकहरुको संख्या कम नै जाने गरेका छन् । वीरगन्जमा खुलेको विश्वस्तरको चेन बजार भाटभटेनीले केही दिन ग्राहकहरु तानेपनि अहिले भाटभटेनीमा समेत चिनीको मूल्य लगायतका उपभोग्य वस्तुहरुमा गरिएको मूल्य वृद्धिले फेरी वीरगन्जका ग्राहकहरु रक्सोल जान थालेका छन् ।
नेपाल सरकारले तोकेको चिनीको उपभोत्ता मूल्य ९७ रुपैंया रहेको छ । तर, रक्सोलमा नेपाली रुपैंया ६४ रुपैंया मात्रै पर्ने गरेको छ । भाटभटेनीमा भने चिनीको मूल्य ९० रुपैंया लिने गरेको छ । वीरगन्जकै खुद्रा बजारमा चिनीको मूल्य ८५ रुपैंया रहेको छ । 
व्यापारमा भएको मन्दी र आकाशिएको महंगीले वीरगन्ज उद्योग वाणिज्य संघले यसपटक सस्तो बजार समेत नलगाउने भएको छ । सस्तो बजार भनेर महंगो मूल्यमा उपभोत्तालाई सामान विक्री गर्नुभन्दा बजार लगाउनु उचित नदेखिएको र वीरगन्ज महानगरपालिकासँग मिलेर ‘रात्रीबजार’ लगाउने भएकोले यसपटक सस्तो बजार नलगाउने भएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले बताउनुभयो । 
वीरगन्ज बजारलाई चलायमान बनाउनका लागि वीरगन्ज महानगरपालिकाले लगाउदै आएको रात्री बजार यसपटक असोज २८ गतेदेखि कार्तिक ५ गतेसम्म लगाउने भएको छ । दशैं, तिहार र छठपर्वलाई मध्यनजर गर्दै महानगरपालिकाले विभिन्न व्यावसायिक तथा सामाजिक संस्थाहरुको सहकार्यमा रात्री बजार लगाउन लागेको हो । 
दर्शैमा उपभोग्य वस्तुको मात्रै होईन कपडा पनि धेरै बिक्री हुने सिजन हो । तर, वीरगन्जका कपडा पसलहरुमा ग्राहक देखिदैनन् । कपडाका पसलेहरु फुर्सदिला देखिन्छन् । अधिकांश पसललेहरु ग्राहकको पर्खाइमा रहेको देखिन्छ । कतिपय व्यावसाय बन्द गरेर पलायन समेत हुन थालेका छन् । पसलहरु राख्ने ब्यापारीहरु नहुँदा मुख्य सडकमा रहेका घरका सटरहरु नै टु–लेट लेखेर महिनौंसम्म टाँसेर राख्ने गरेका छन् ।