बैंकको किस्ता र ब्याज बुझाउने समयावधि थप गर्न इट्टा उद्योगीहरुको माग 

बैंकको किस्ता र ब्याज बुझाउने समयावधि थप गर्न इट्टा उद्योगीहरुको माग 

वीरगन्ज, १६ कार्तिक । बारा, पर्सा ईट्टा उद्योग व्यवसायी संघ, वीरगन्जले कर्जाको किस्ता र ब्याज बुझाउने अवधि थप गर्न माग गर्दै अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । संघले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

आर्थिक संकटबाट गुज्रिरहको ईट्टा उद्योगले बैंंकबाट लिएको कर्जाको साँवा र किस्ता बुझाउने अवधि २०८२ असार मसान्तसम्म कायम गरिदिन ज्ञापनपत्र मार्फत माग गरेका हुन् । बैंक तथा वित्तीयसंस्थाहरुबाट उद्योगी व्यवसायी एवम आम सर्वसाधारणले सहज तरिकाले कर्जा नपाईरहेको, विगतमा कोभिड महामारीको असर र रेमिट्यान्समा ह्रास आउँदा प्राय भौतिक निर्माण ठप्प हुँदा विगत २/३ वर्ष अगाडीबाट उत्पादित ईटा समेत बिक्रि वितरण हुन नसकेकोले बैंकको कर्जाको किस्ता र ब्याज बुझाउने समयावधि बढाउन माग गरेका छन् ।

इट्टाको माग नहुँदा उद्योग परिसरमा नै ठूलो परिमाणमा उत्पादित ईटा स्टक रहेको व्यवसायीहरुले बताएका छन् । ईटा उद्योगी व्यवसायीहरुमा वित्तीय संकट सृजना भएको र यस्तो अवस्थामा उद्यागीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज तोकिएको भाखामा नै बुझाउन नसकेको व्यवसायीहरुले इट्टा उद्योग व्यवासायीहरुको भनाई छ ।

निर्माण व्यावसायीहरुले पनि काम सम्पन्न गरे बापत समयमा भुक्तानी पाउन नसकेको र अर्को तर्फ नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ मा पूँजीगत शीर्षकमा एकदमै न्यून रकम खर्च गरेको कारण भौतिक निमार्ण कार्यले गति लिन नसक्दा अपेक्षाकृत रुपमा ईटा विक्री वितरण हुन नसकी ईटा उद्योगहरुमा पूंजी अभाव भई आगामी दिनमा उद्योग संचालन गर्न सक्ने अवस्था नरहको विज्ञप्तिमा भनिएको छ ।

हालका दिनमा उद्योगी व्यवसायीहरु आर्थिक संकटको सामना गरिरहेको उनीहरुले दुखेसो गरेका छन् । बारा, पर्सामा संचालित ईटा उद्योगहरु माथि आएको आर्थिक संकटले ऋणको किस्ता तिर्न गाह्रो भएको व्यवसायीहरुको भनाई छ ।  यस्तो संकटपूर्ण अवस्थामा बैंकमा धितो राखिएको घरजग्गालाई बैंकले लिलामी प्रकृयाको तयारी गरीरहेको हुँदा ऋणको सवाँ र ब्याज चुक्ताको अवधी थप गर्न पहल गरिदिन अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको संघले जनाएको छ ।