शुक्रबार बसेको मन्त्री परिषदको विभिन्न निर्णय
वीरगन्ज, २९ भदौ । भदौ २९ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने, साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुस छूट गरी १०–१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै सिंचाई नीति, २०८० स्वीकृत गर्ने । संविधान दिवसको अवसरमा प्रदान गरिने विभूषण वितरण हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको छ ।
विभूषणलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णप मन्त्री परिषदले गरेको छ।