आम जनता पार्टीको स्थायी कमिटि बैठक मंसिर ११ गते बोलायो

वीरगन्ज, ६ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले स्थायी कमिटि बैठक बोलाएको छ ।
देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्था गम्भीर बन्दै गएको भन्दै सबै संकटको प्रमुख कारण भनेको नै विद्यमान शासन व्यवस्था र मुख्तः दलतन्त्र नै रहेकोले यसको विकल्प खोज्न, यी र यस्ता संकटको समिक्षा तथा वर्तमान व्यवस्था र नेतृत्वको विकल्पबारे पार्टीको आधिकारिक धारणा तथा ठोस योजना निर्माणको लागि बैठक बोलाएको आजपाले जनाएको छ ।
आजपाले बैठकको बारेमा जानकारी दिदै भनेको छ, ‘देश यतिवेला संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको, राजनीतिक अस्थिरता कायमै रहेको र सरकार–सरकारबीच द्वन्द्वको अवस्था देखिएको र राजनीतिक द्वन्द्व चर्को रुपमा बढ्दै जाँदा जनता निराश भएका छन् ।’
विज्ञप्तिमा भनिएको छ । प्रमुख पार्टीका नेताहरु अनिर्णयको बन्दी भई खुलेआम भ्रष्टाचारमा लिप्त रहेको र उनीहरुले आफूलाई शासक वर्गमा परिणत गरेको आरोप लगाउदै विज्ञप्तिमा भनिएको छ, ‘देशको आर्थिक अवस्था दयनीय रहेको भन्दै बजारमा पैसाको हाहाकार रहेको र एकातिर देशबाट वर्सेनि खर्बौं पूँजी विदेश पलायन भैरहेको छ भने अर्कोतिर विदेशी पूँजी नेपाल भित्रिन सकेको छैन् ।
राज्यको नेतृत्वमा भगौडा वर्गको हालीमुहाली छ । अर्थात् देश आर्थिक रुपमा क्रमशः जर्जर बन्दैछ । साम्प्रादायिकताले हाम्रो सामाजिक सम्बन्धहरू विथोलिंदै छन् ।’ स्थायी कमिटीको बैठक मंसिर ११ गते विहान ११ बजे केन्द्रीय कार्यालय, कोटेश्वरमा बस्ने पार्टीले जनाएको छ ।