जाँचपासको बेरुजु दाखिला गर्न आयातकर्ता र एजेण्टलाई सात दिनको म्याद 

जाँचपासको बेरुजु दाखिला गर्न आयातकर्ता र एजेण्टलाई सात दिनको म्याद 

ट्रिब्यून न्यूज 
वीरगन्ज, १ चैत्र । आयात कारोबारमा देखिएको बेरुजु रकम दाखिला गर्न पटक–पटक पत्राचार गर्दासमेत बेवास्ता गरेको भन्दै वीरगन्ज भन्सार कार्यालयले आयातकर्ता र एजेण्टहरुलाई वस्तु जाँचपासको बेरुजु दाखिल गर्न अन्तिम म्याद तोकेको छ  ।

वीरगन्ज भन्सार कार्यालयबाट मालवस्तु जाँचपासका क्रममा १ अर्ब ८० करोड रुपैयाँ बेरुजु हुन पुगेको र सो रकम दाखिला गर्न सात दिनको म्याद दिएको  प्रमुख भन्सार प्रशासक महेश आचार्यले बताउनुभयो । वीरगन्ज भन्सार कार्यालयले सात दिनभित्र बेरुजु रकम वा रकम दाखिला गरेको प्रमाण पेस नगरे कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा विभिन्न एजेन्ट मार्फत १ सय ८६ व्यावसायिक फर्म तथा कम्पनीले गरेको आयात कारोबारमा बेरुजु देखिएको थियो । महालेखा परीक्षकको कार्यालयले गरेको अन्तिम लेखापरीक्षणले बेरुजु औँल्याएको थियो । लेखापरीक्षणले एउटै आयातकर्ताको ९७ लाखसम्म बेरुजु रहेको औँल्याएको थियो ।

महालेखाले औँल्याएको बेरुजु रकम असुलउपर गर्न ताकेता गरिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख महेश आचार्यले बताउनुभयो । वीरगन्ज भन्सार कार्यालयले गत बुधबार सूचना प्रकाशन गरेर बेरुजु रकम दाखिला गर्न ताकेता गरेको हो । वीरगन्ज भन्सार कार्यालयमा बेरुजु हुनेमा सानादेखि बहुराष्ट्रिय कम्पनी र व्यावसायिक घरानासमेत रहेका छन्  ।

त्यस्तै, एक सरकारी स्वामित्वको संस्थानको समेत बेरुजु देखिएको छ । आयातीत वस्तुको भन्सार जाँचपासका क्रममा वर्गीकरण तथा मूल्यांकनमा फरक पर्दा रकम बेरुजु हुन पुगेको भन्सार प्रमुख आचार्यको भनाई छ ।