कर्पोरेट विकास बैंकको भवनमा पनि चल्यो डोजर 

कर्पोरेट विकास बैंकको भवनमा पनि चल्यो डोजर 

वीरगन्ज, ६ साउन । वीरगन्ज महानगरपालिकाले आदर्शनगर स्थित कर्पोरेट विकास बैंक रहेको भवनमा पनि डोजर चलाएको छ । सार्वजनिक नाला अतिक्रमण गरी बनाईएका संरचना भत्काउने क्रममा शनिबार कर्पोरेट बैंक रहेको भवनमा डोजर लगाएर भत्काएको हो ।

यसअघि हरिखेतान बहुमुखी क्याम्पसले नालामाथि बनाएको संरचनामा डोजर लगाएको महानगरपालिकाले क्लासिक होटल रहेको भवन पूर्ण रुपमा भत्काएको छ । कर्पोरेट बैंकको भवनलाई पनि तीन दिनको समय दिएर शनिबार डोजर लगाएको हो ।

वीरगन्ज नगर पञ्चायत रहेको बेलामा आदर्श विकास समितिको नामबाट डाक बढाबढमा विक्री गरिएको जग्गा मालपोत कर तिरेर भोगचलन गर्दै आएको थियो ।

तर, नालामाथि बनाईएको संरचना सार्वजनिक नै हुने भएकोले भवनहरु भत्काएको महानगरपालिकाले जनाएको छ । सार्वजनिक जग्गा संरक्षण गर्ने र ढल तथा नालामाथि बनाईएका संरचना भत्काउने क्रममा सबैभन्दा ठूलो हरिखेतान बहुमुखी क्याम्पस, कर्पोरेट बैंक र क्लासिक होटल रहेको भवन संरचना महानगरपालिकाले भत्काएको हो ।