रौतहटका अर्का केन्द्रीय सदस्यले दिए एमालेबाट राजिनामा
वीरगन्ज, २८ कार्तिक । नेकपा एमालेले जनता समाजवादी पार्टीसँग निर्वाचनमा गठबन्धन गरेपछि एमाले छाड्ने क्रम बढी रहेको छ । जसपासँग गठबन्धन भएपछि तीब्र असन्तुष्ट देखिएका रौतहटका एमाले नेताहरुले एमाले छोड्न थालेक हुन् । रौतहट जिल्लामा प्रभु साहले एमालेबाट पाएको टिकटबाट नलडेर स्वतन्त्र उम्मेदवारी दिएसँगै रौतहटमा एमालेका नेताहरुले नै पार्टी छोड्न थालेका हुन् ।
सोमबार मात्रै एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला सहइन्चार्ज रामपृत रामले नेकपा एमालेको केन्द्रीय सदस्य पदबाट राजिनामा दिनुभएको हो । नेपाल उत्पीडित जातीय समाज नेपालका केन्द्रीय सचिव समेत रहनुभएका रामले एमाले पार्टीमा एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलहरु गठबन्धन गरेकोले पार्टी छोड्नु परेको बताउनुभयो ।
नाकाबन्दीको समयमा विरोध गरेर राष्ट्रवादी छवि बनाएका पार्टी अध्यक्ष केपी ओलीले नाकाबन्दी गरेका उपेन्द्र यादवसँग गठबन्धन गरेर जनतालाई धोका दिएको उहाँले आरोप लगाउनुभयो । देशमा राजसंस्था पुनस्थापना गर्न संघीयता खारेज गर्न र सनातन हिन्दु राष्ट्र स्थापना गर्ने जस्ता जनविरोधी र पश्चगमनकारीहरु एजेण्डाका प्रमुखताका साथ अगाडि बढाएको र राप्रपासँग एमालेले जनविरोधी र परिवर्तन विरोधी गठबन्धन गरेका भन्दै पार्टीको सबै जिम्मेवारीबाट हटेको उहाँले जारी गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।