वीरगन्ज कलेजद्वारा कक्षा ११ का विद्यार्थीहरुको व्यक्तित्व विकास सम्बन्धी दुईदिने तालिमको आयोजना
वीरगञ्ज, २९ कार्तिक । वीरगञ्ज कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि स्वागत तथा व्यक्तित्व विकास सम्बन्धी २ दिने तालिमको आयोजना गरेको छ । होटेल भिस्वामा आयोजना गरेको तालिममा कक्षा ११ का विद्यार्थीहरुलाई कलेजले स्वागत गर्नुका साथै उनीहरुको व्यक्तित्व विकासका लागि प्रशिक्षण पनि दिएको छ ।
प्रशिक्षणको उद्घाटन प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नुभएको थियो । उदघाटनपछि मन्तव्य गर्दै प्रमुख सिंहले शैक्षिक प्रणालीमा सुधार गर्नका लागि निजी कलेजहरुसँग महानगरले विशेष योजना बनाएर कार्यन्वयन गर्नुपर्ने बताउनुभयो ।
विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि शिक्षासँगै व्यावहारिक ज्ञान पनि आवश्यक रहेको हुँदा अतिरिक्त क्रियाकलाप र व्यावहारिक ज्ञान र शिक्षामा सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभयो । कलेजका सञ्चालक समितिका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख बिनोद कुमार गुप्ताले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
पहिलो दिनको उद्घाटन कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरी गौतम, वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकार, गौतम माविका प्रबन्ध निर्देशक सोनम लामा,
बैंक अफ काठमाण्डौका वीरगन्ज शाखा प्रबन्धक सुरेश यादव, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठनका पर्सा अध्यक्ष मनोज पटेल, पत्रकार सुरेश विडारी, प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष आलोक चौरसिया लगायतको उपस्थिती रहेको थियो ।