सफ्टवेयर अपग्रेडीङले भन्सार कार्यालयको काम प्रभावित
वीरगन्ज, २९ कार्तिक । भन्सार विभागको स्वचालित भन्सार जाँचपास प्रविधि (आशिकुँडा) सफ्टवेयर अपग्रेडिङका कारण देशैभरका भन्सार कार्यालयहरुको दैनिक कार्यसम्पादन प्रभावित भएको छ । भन्सार कार्यालयको कार्यसम्पादन प्रभावित हुँदा राजस्व असुलीमा पनि प्रभाव परेको छ ।
भन्सार कार्यालयहसँग जोडिएको (आशिकुँडा प्रणालीको स्तरोन्नतीको कार्य भईरहेकोले भन्सार नाकामा माल पास हुन नसक्दा राजस्व असुलीमा प्रभाव परेको हो । भन्सार विभागले स्वचालित भन्सार जाँचपास प्रणालीमा केही समस्या देखिएको भन्दै त्यसको अपग्रडिङ गरिरहेको छ ।
भन्सार विभागसँग एकल सर्भर भएकोले यसमा काम पनि गर्नुपर्ने र भन्सारका मालवस्तु पूर्ण रुपमा जाँचपास गर्न नपाउँदा राजस्व असुलीमा केही प्रभाव परेको भन्सार विभागका सूचना अधिकार पुण्यविक्रम खड्काले बताउनुभयो । उहाँका अनुसार पहिलेको सिस्टममा एकचोटी इन्ट्रि भएका डाटाहरु पुनः अगाडिदेखि नै खोजीरहनुपर्ने समस्या थियो ।
अहिले चाहिँ जहाँसम्म काम गरिएको छ । त्यहिबाट नै पुनः शुरु गर्न सकिने गरी अपग्रडिङ भईरहेको छ । त्रिभुवन विमानस्थल भन्सारमा मेनिफेस्टो मोडेल छुट्टै डेभ्पलपर रहेको र अन्य भन्सारहरुसँग पनि जोडिएका सिस्टमहरुमा पनि छुट्टाछुट्टै भएकोले समय लागेको उहाँको भनाई छ ।
भन्सार विभागले स्वचालित भन्सार जाँचपास (आशिकुडा) प्रणालीको प्रयोगमा समस्या आएको गुनासो आएपछि अहिले निर्वाचनको समयमा सबैजना चुनावमा व्यस्त हुने र सीमा नाकापनि बन्द हुने हुँदा आयातकर्ताहरुले पनि सामान कम ल्याउने अनुमानको आधारमा सिस्टम अप्रगेडिङ शुरु गरिएको सूचना अधिकारी खड्काको भनाई छ ।
उहाँले भन्नुभयो, “सिंगल सर्भर हो । त्यसमा बेला बेलामा समस्या आएकोले दुई तीन घण्टामा समस्या हल होला भन्ने हिसाबले स्तरोन्नतीको काम शुरु गरियो । तर, रिस्टार्टको समस्या देखिएकोले समय लम्बियो । यार्ड सञ्चालकहरुसँगको गेट इण्ट्रि मोडलको सञ्जालसँग काम भईसकेको छ । भोली पर्सि सम्ममा सबै समाधान हुन्छ होला ।”
एकदिन भन्सारमा काम रोकिएमा राज्यको राजस्व संकलनमा अर्बौ नोक्सान हुने हुन्छ । भन्सार विभागका सूचना अधिकारी खड्काका अनुसार सफ्टवेयर अपग्रेड गर्ने प्राविधिकहरुले निरन्तर काम गरिरहेका छन् । अनलाईन भएकोले सँगसँगै काम गर्नुपर्ने भएकोले सेवाग्राहीलाई केही समय अवरोध हुन गएको खड्काले बताउनुभयो ।
शनिबार पहिलो दिन काम शुरु गर्दा भन्सार राजस्व असुली १३५ करोड जति राजस्व असुली भएकोमा आईतबार र सोमबार राजस्व असुली पनि घटेर आएको सूचना अधिकारी खड्काले बताउनुभयो । भन्सार जाँचपास र सिस्टम अपडेट पनि सँगै गर्नुपर्दा ५० प्रतिशत जति भन्सार राजस्व असुली कम भएको छ ।
सिस्टम अपग्रेड गर्दा भन्सार जाँचपास पनि रोकिएकोले हजारौ मालवाहक गाडीहरु वीरगन्ज स्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी)मा रोकिएका छन् । आईसीपी सञ्चालक कम्पनी इन्टर मोडल यातायात विकास समितिका वीरगन्ज प्रमुख कमल ज्ञवालीका अनुसार भन्सार जाँचपास ढिलो हुँदा वीरगन्जमा झण्डै १२ सय भन्दा बढी मालबाहक गाडीहरु रोकिएका छन् ।
वीरगन्ज आईसीपीका प्रमुख भन्सार प्रशासक नवराज ढुंगानाले केन्द्रीय कार्यालयबाट नै सिस्टम अपग्रडिङ भईरहेकोले जाँचपासमा केही समस्या देखिएको र भोलीसम्ममा त्यो समस्या समाधान हुनसक्ने बताउनुभयो ।