तीन महिनामा १४ प्रतिशतमात्र खर्च

तीन महिनामा १४ प्रतिशतमात्र खर्च

वीरगन्ज, ३ कार्तिक । सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को तेस्रो महिनामा एक खर्ब ४४ अर्ब रुपैयाँ खर्च गरेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा ८९ अर्ब रुपैयाँमात्र खर्च गरेको सरकारले असोज महिनामा भने झण्डै डेढ खर्ब रुपैयाँ खर्च गरेको हो ।

यससँगै पहिलो त्रैमासमा सरकारले दुई खर्ब ३४ अर्ब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन लक्ष्यको १४.३ प्रतिशत हो । पुँजीगत खर्चको भुक्तानी हुँदै गएको तथा चाडबाड लक्षित खर्च बढेका कारण असोज महिनामा धेरै बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता नवराज ढुंगानाले बताए ।

“पहिलो बाँकी रहेको पुँजीगत खर्चको भुत्तानी पनि भयो । दसैं खर्च पनि बढे । बजेट रिक्तता हुँदाको खर्च पनि पछि जोडिँदै गएकाले केही बढी खर्च भएको हो,” उनले भने । गत आर्थिक वर्षको सोही अवधिमा भने सरकारले दुई खर्ब एक अर्ब रुपैयाँ बजेट खर्च गरेको थियो । सरकारले गत वर्षभन्दा धेरै कुल बजेट खर्च गरे पनि पुँजीगत खर्च भने केही कम भएको छ ।

गत वर्ष पहिलो त्रैमासमा १५ अर्ब पाँच करोड रुपैयाँ पुँजीगत खर्च गरेकोमा चालू वर्षमा १४ अर्ब ८८ करोड रुपैयाँमात्र भएको छ । त्यसमा पनि असोज महिनामा मात्र १२ अर्ब रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ । त्यस्तै चालूतर्फ पहिलो तीन महिनामा एक खर्ब ८६ अर्ब रुपैयाँ खर्च भएको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ३३ अर्ब रुपैयाँ खर्च भएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा सरकारले एक खर्ब ८२ अर्ब चालू खर्च गरेको थियो भने वित्तीय व्यवस्थापनतर्फ जम्म ३ अर्ब रुपैयाँ खर्च गरेको थियो । वित्तीय व्यवस्थापनमा बढी खर्च हुँदा अघिल्लो वर्षको तुलनामा धेरै बजेट खर्च भएको पाइएको छ ।


त्यस्तै सरकारले पहिलो त्रैमासमा दुई खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८३ अर्बले बढी हो । गत वर्ष सोही अवधिमा सरकारले एक खर्ब ७२ अर्ब रुपैयाँ बराबरको राजस्व परिचालन गरेको थियो । यस वर्ष कुल राजस्वमा दुई खर्ब २९ अर्ब कर राजस्व परिचालन भएको छ भने २५ अर्ब रुपैयाँ गैर कर राजस्व संकलन भएको छ ।

कारोबारबाट साभार