घटस्थापनादेखि पुनः ५ दिन रात्री बजार लाग्ने 

घटस्थापनादेखि पुनः ५ दिन रात्री बजार लाग्ने 

वीरगञ्ज, १४ असोज ।  वीरगंज महानगरपालिकाले घटस्थापनाको दिनदेखि पाँच दिनसम्म पुनः ‘रात्री बजार’ लगाउने तयारी गरेको छ । मौसम प्रतिकुलताका कारण रोकिएको रात्री बजार मौसममा सुधार आएको र वडादशैं पनि नजिकिँदै गरेको दुई महिनादेखि रोकिएको ‘रात्री बजार’ पुनः संचालन गर्ने तयारी गरेको हो ।

महानगरले यस पटकको ‘रात्री बजार’ दशैंको पहिलो दिन घटस्थापनाबाट सुरु गर्ने गरी मेला लगाउने तयारी गरेको महानगरका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । यही असोज २८ गते घटस्थापनाका दिनबाट पुरानो बसपार्कमा सुरु हुने मेला कात्तिक २ गतेसम्म ५ दिनसम्म चल्ने गरि लगाउने तयारी थालेको उहाँले बताउनुभयो ।

५ दिनका लागि राति १२ बजेसम्म  भारतबाट नेपाल प्रवेश गर्ने वीरगंजस्थित मुख्य नाका खुल्ला रहने महानगरले जनाएको छ । नेपाल–भारत सीमा नाका राति १० देखि बिहान ५ बजेसम्म दुवैतर्फ बन्द हुने गर्दछ । तर बजार लाग्ने ५ दिन नाका अबेर राति १२ बजेसम्म खुल्ला राख्न महानगरले नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति लिइसकेको नगर प्रमुख सिहंको भनाई छ ।

महानगरभित्रको व्यापार व्यवसाय चलायमान बनाउन र पर्यटक भित्र्याउन महानगरले गएको बैशाख महिनादेखि रात्री बजार लगाउन सुरु गरेको थियो । यस पटकको ‘रात्री बजार’ दशैंका बेला परेकाले आम सर्वसाधारणलाई सहज हुने गरि सहुलियत दरको पसल समेत संचालन गर्ने तयारी महानगरले गरेको छ । त्यसका लागि घरेलु तथा साना उद्योगसँग सहकार्य गरिएको छ ।

दशैं लक्षित रात्री बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल सहित दैनिक उपभोग्य बस्तुहरु समेत राखिनेछ । महानगरले ‘रात्री बजार’ सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । घरेलु तथा साना उद्योग, ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, वीरगञ्ज साइकलिङ क्लब,

वुमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले दशैं लक्षित रात्री बजार लगाउन लागेको हो । रात्री बजारमा लगाइने स्टलहरुको बुकिङ खुल्ला गरिएको छ । आदर्शनगरस्थित पुरानो बसपार्कमा करिब १ सय स्टल लगाउने गरी तयारी गरिएको छ। प्रति स्टल २ हजार रुपैयाँ शुल्क पनि राखिएको छ ।