वीरगन्जलाई प्रथामिकतामा राखेर १ लाख डोज खोप माग
वीरगन्ज, १९ जेठ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कोरोना भाईरस संक्रमण (कोभिड–१९) विरुद्धको खोपका लागि वीरगन्जलाई प्राथामिकतामा राख्न माग गर्नुभएको छ । कोभिड संक्रमणले लाखौं नागरिक संक्रमित र
हजारौं संख्यामा मृत्यु भईरहेको अवस्थामा जीवन जोखिममा रहेका नागरिकहरुलाई बचाउन सक्ने एक मात्रै उपाय खोप रहेकोले नेपालकै प्रमुख प्रवेशद्वार वीरगन्ज संक्रमणको उच्च जोखिममा रहेकोले खोप वितरणमा प्रथामिकतामा राख्न महानगर प्रमुख सरावगीले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै माग गर्नुभएको हो ।
संघीय सरकारले खोप खरिदलाई उच्च प्राथामिकतामा राखेकोमा धन्यवाद दिदै महानगर प्रमुख सरावगीले यसअघि महानगरपालिका बाटै खोप खरिदको लागि अनुमति माग गरिएकोमा खोप खरिदको जिम्मेवारी संघीय सरकारलाई मात्रै भएको मन्त्रालयबाट विभिन्न संचार माध्यमहरु मार्फत स्पष्ट पारेको जानकारी भएको र सरकारसँग उपलब्ध खोप वितरणमा वीरगन्ज क्षेत्रलाई प्रथामिकतामा राख्न अनुरोध गर्नुभएको छ ।
नेपालमा कोरोना संक्रमण प्रभाव विशेष गरी भारतसँगको सीमावर्ती सहरहरुमा बढी देखिएको र वीरगन्ज देशकै प्रमुख स्थल भन्सार नाका र औद्योगिक तथा व्यापारिक नगरको दृष्टिकोणले पनि बढी जोखिम क्षेत्र वीरगन्ज भएकोले वीरगन्जलाई प्राथामिकता दिन महानगर प्रमुख सरावगीले माग गर्नुभएको छ ।
स्थल मार्ग भएर नेपालको ७० प्रतिशत आयात निर्यात हुने क्षेत्र भएको र वीरगन्ज नाका भएर दैनिक हजारौं संख्यामा मालवाहक सवारी साधन देशका विभिनन स्थानमा जाने गरेको तथा ढुवानी सेवाका सवारी साधनहरु पनि दैनिक हजारौं संख्यामा आवत जावत हुने भएकोले संक्रमणको उच्च जोखिमा रहेको वीरगन्जका नागरिकलाई बचाउनका लागि खोप वितरणको पहिलो प्राथामिकतामा राख्न अनुरोध गरिएको महानगर प्रमुख सरावगीले बताउनुभयो ।
वीरगन्ज पथलैया औद्योगिक करिडोरमा सयौं उद्योग प्रतिष्ठानहरु संचालनमा रहेको र ती उद्योग प्रतिष्ठानहरुमा काम गर्ने श्रमिकको संख्या पनि करिब एकलाखको हाराहारीमा रहेको हुँदा यस्तो विषम परिस्थितिमा वीरगन्ज भन्सार नाकाबाट हुने ढुवानी सेवामा संलग्न चालक, सहचालक, भन्सारमा कार्यरत कर्मचारीसहित श्रमित र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरु, उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई पहिलो प्रथामिकतामा राखेर खोप लगाउनु पर्ने देखिएकोले यसलाई गम्भीर रुपमा लिन पनि महानगर प्रमुख सरावगीले अनुरोध गर्नुभएको छ ।