व्यत्तिगत घटना दर्ता शिविर सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न
वीरगन्ज, २० जेठ । वीरगन्ज महानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले व्यक्तिगत घटना दर्ता सम्बन्धी शिविर सञ्चालनका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
हरेक नागरिकसम्म व्यक्तिगत घटना दर्ताको बारेमा सहज पहुँच पु-याउनका लागि वीरगन्ज महानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले व्यक्तिगत घटना दर्ताको लागि शिविर
सञ्चालन गर्न गईरहेको र त्यसलाई सफल पार्नका लागि निर्वाचित वडाका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था तथा सञ्चारकर्मीहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाकी प्रमुख बुद्धिमाया थापाले बताउनुभयो ।
जन्मदर्ता, विवाहदर्ता, सम्बन्ध विच्छेद, मृत्युदर्ता, बसाई सराई सामान्यतः मानव जीवनमा हुने पाँच प्रकारका घटनाहरुको अनिवार्य दर्ता गर्नुपर्ने आवश्यकता रहेको बताउदै यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनका लागि हरेक व्यक्तिले आफ्नो घर, परिवार, समाजमा यसको बारेमा जनचेतना र जागरण फैलाउनुपर्नेमा जोड दिईएको छ ।
वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा तथा सामाजिक स्वास्थ्य महाशाखाका प्रमुख अरविन्दलाल कर्णले व्यक्तिगत घटना दर्ताले नागरिकलाई सेवा दिन सहज हुने र नागरिकले पनि सहजरुपमा सेवा पाउने भएकोले यसलाई प्रभावकारी बनाउन सबैले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।
व्यक्तिगत घटना दर्ता भएमा त्यसको अभिलेख कार्यालयहरुमा रहने र सहज रुपमा सेवाग्राहीले खोजेको समयमा पाउन सकिने भएकोले सबैले घटना दर्ता अनिवार्य रुपमा गर्नुपर्ने उहाँले बताउनुभयो । कर्णकै अध्यक्षतामा भएको कार्यक्रममा
सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाकी प्रमुख बुद्धिमाया थापाले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विभिन्न वडामा क्रियाशील सामाजिक संघ संस्था, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।