“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” वडा नम्बर २६ मा शुरु
वीरगन्ज, १३ मंसिर । वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीको स्वास्थ्य चौकीमा सोमबार देखि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” शुरु भएको छ । विभिन्न वडाहरुमा क्रमशः सेवा दिदै आएको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” वडा नम्बर २६ मा सोमबार शुरु भएको पहिलो दिन मै ८१ जना महिला सहित १४२ जना स्थानीयबासीले स्वास्थ्य सेवा लिएका छन् ।
डाक्टरहरूको सल्लाह र आवश्यकता अनुसार ४० जनाले ल्याब , ८ जनाले यु. एस. जी. सेवा समेत लिएका हुन् । महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उदेश्यले सञ्चालन गरेको कार्यक्रममा क्रमशः वडा नम्बर १७,१८,३०,३१ र ३२ मा बिरामीको अवस्था हेरी मोबाइल ल्याबबाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार निःशुल्क औषधि पनि वितरण गरिएको महानगरले जनाएको छ ।
पाँच वडामा उपलब्धिमूलक रहेको कार्यक्रमलाई निरन्तरता दिँदै छैठौं स्थानको रुपमा वडा नम्बर २६ मा शुरु गरिएको हो । घरदैलोमै सबै खालका चेकजाँच हुनेगरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीड लाग्ने गरेको वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले बताउनुभयो ।
ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज भएकोले महिलाहरू निर्धक्कसँग कार्यक्रम स्थलमा चेकजाँच गराउन आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताउनुभयो ।
सोमबारदेखि शुरु गरिएको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” यहीँ साताको बिहीबार सम्म सोही वडामा चल्ने भएकोले स्वास्थ्य समस्या झेलिरहेका स्थानीयहरुलाई राजनीतिक कलहमा नपरि शिविरमा सहभागी भएर स्वास्थ्य सेवा लिन महानगरका मेयर राजेशमान सिंहले आग्रह गनर््ुभएको छ ।