पर्सामा समानुपातिक मत पाउनेमा कांग्रेस नै अगाडि
वीरगञ्ज, १२ मंसिर । पर्सा जिल्लामा प्रतिनिधिसभा र प्रदेसभातर्फको समानुपातिक मतगणनामा नेपाली कांग्रेस नै अगाडि रहेको छ । नेकपा एमाले प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपरिणाममा अगाडि रहेको छ । भने प्रदेशसभातर्फ जनता समाजवादी पार्टी अगाडि रहेको छ । अहिलेसम्म गणना गरिएको मत परिणाम अनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसले ६६ हजार ६७५ मत पाएको छ ।
प्रदेशसभातर्फ ६३ हजार ८६१ मत पाएको छ । त्यसैगरी नेकपा एमालेले ४२ हजार ९७५ मत प्रतिनिधिसभातर्फ पाएर दोश्रो नम्बरमा छ । भने, प्रदेशसभातर्फ एमालेले ४१ हजार ३०४ मत पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ३८ हजार ४२१ मत पाउँदा प्रदेसभातर्फ जसपाको ४१ हजार ६२७ मत आएको छ । चौथो नम्बरमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको छ ।
राप्रपाले प्रतिनिधिसभातर्फ पर्सामा २० हजार ७७३ र प्रदेशसभातर्फ १७ हजार १७३ मत पाएको छ । नेकपा माओवादी केन्द्र भने पाँचौ नम्बरमा परेको छ । उसले प्रतिनिधिसभातर्फ १३ हजार २७४ मत पाएको छ । भने, प्रदेशसभातर्फ ११ हजार ३१३ मत पाएको छ ।
यसैबीच समानुपातिकतर्फ ९१ लाख ८९ हजार मतगणना हुँदा एमालेको २५ लाख कटेको छ । पछिल्लो परिणामअनुसार एमालेको २५ लाख ३० हजार २१६, कांग्रेसको २३ लाख ९६ हजार ९३, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ६२ हजार ९८० र माओवादी केन्द्रको १० लाख ६१ हजार २ सय मत छ । हिजोसम्म माओवादी तेस्रो नम्बरमा रहेकोमा पछिल्लो परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि माओवादीलाई उछिनेको छ ।
त्यस्तै राप्रपाको ५ लाख ४७ हजार १८८, जसपाको ३ लाख २४ हजार ३१०, जनमत पार्टीको २ लाख ६१ हजार र एकीकृत समाजवादीको २ लाख ५१ हजार मत आएको छ । निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जानकारी दिएको आधारमा चुनावमा १ करोड ९ लाख मत खसेको अनुमान छ । मत कति बदर भयो भन्ने यकिन भैसकेको छैन । एक करोड मत सदर भयो भने राष्ट्रिय दल बन्नको लागि ३ लाख मत आवश्यक पर्छ ।
प्रत्यक्षमा १० सिट जितेको नेकपा एकीकृत समाजवादी पार्टीलाई समानुपातिकतर्फ कम मत आउँदा राष्ट्रिय दल बन्न गाह्रो देखिएको छ । राष्ट्रिय दलको मान्यता प्राप्त गर्नको लागि प्रत्यक्षतर्फको कम्तिमा एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ पनि कुल सदर मतको कम्तिमा तीन प्रतिशत मत ल्याउनु अनिवार्य छ ।
तर अहिलेसम्म आएको मत र मतवृद्धिको दरलाई हेर्दा एकीकृत समाजवादीले तीन लाख मत ल्याउने सम्भावना कम देखिएको छ । अब झण्डै १८ लाख मत गन्न बाँकी छ ।