पर्साको धोविनीमा विभिन्न निर्माण योजनामा व्यापक अनियमितता भएको आरोप

पर्साको धोविनीमा विभिन्न निर्माण योजनामा व्यापक अनियमितता भएको आरोप

वीरगन्ज, २७ जेठ । पर्साको धोविनी गाउँपालिकामा निर्माण भएका विभिन्न आयोजनामा व्यापक अनियमितता र भ्रष्टाचार भएको स्थानीयले आरोप लगाएका छन् । धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा संचालित विभिन्न विकास निर्माणका योजनाहरुमा भएको अनियमितता र भ्रष्टाचारको बारेमा व्यापक चर्चा भएपछि स्थानीय राजनीतिक दलहरुले गरेको अनुगमनका क्रममा व्यापक अनियममिता र भ्रष्टाचार भएको पाईएको हो ।

हरिहरपुरदेखि धोविनी जाने बाटोमा माटो पुरेर ग्राभेल गर्ने, वडा कार्यालय नजिकैको ढलान, लंगडाबाबाको मन्दिरदेखि दक्षिण जाने वडा कार्यालयसम्मको पक्की ढलान, उत्तरतर्फ नहरसम्म माटो पुरेर ग्राभेल गरिएको बाटोमा अनियमिता भएको पाईएको धोविनी गाउँपालिकाका स्थानीयले आरोप लगाएका छन् ।

नेकपा माओवादी केन्द्रका मधेस प्रदेश कमिटि सदस्य तथा धोविनीकै स्थानीय समेत रहेका सलाउद्दीन अहमद नेतृत्वको राजनीतिक दलका नेताहरुले गरेको अनुगमनका क्रममा वृक्षरोपण गरिएको स्थानमा एउटा पनि विरुवा नपाईएको, शम्भु प्रसाद आधारभूत विद्यालयमा पर्खाल निर्माण, उत्तरटोलाका धर्मशाला निर्माणमा पनि गुणस्तरहिन काम भएको र अनियमितता भएको दावी गर्नुभएको छ ।

त्यसैगरी बर्थिङ सेण्टर र जमदार मियाको घरदेखि जोखुको घरकोसम्मको सडक निर्माणमा पनि अनियमितता भएको स्थानीय राजनीतिक दलका नेताहरुको दावी छ । अनुगमनमा स्थानीय नेताहरु पारस पटेल, योगेन्द्र साह, जंग बहादुर, प्रदीप पटेल लगायतको पनि सहभागिता रहेको थियो ।