सरकारले धान खरिद शुरु गर्‍यो, किसानलाई भने दुःखै दुःख

सरकारले धान खरिद शुरु गर्‍यो,  किसानलाई भने दुःखै दुःख

वीरगन्ज, ११ पुस । ढिलो गरी सरकारले किसानको धान खरिद गर्न थालेपनि किसानले भने सहज रुपमा धान बिक्री गर्न पाएका छैनन् । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा पर्सामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारी मार्फत र खाद्य व्यावस्था तथा व्यापार कम्पनीले सिधैं किसानको धान खरिद गर्न सुरु गरेपनि किसानले गोदामसम्म पुर्‍याउन अनेक झमेला व्यहोर्नु परेको किसानले गुनासो गरेका छन् ।

एकहप्ता अघिदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारी मार्फत धान खरिद गर्न थालेको थियो । सोमबारदेखि वीरगन्ज स्थित खाद्य व्यावस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न सुरु गरेको छ । सहकारी मार्फत किसानले धान बिक्री गर्न परियोजना कार्यालयले तोकेको क्षेत्रभन्दा बाहिरका किसानले विक्री गर्न पाएका छैनन् भने खाद्य व्यावस्था तथा व्यापार कम्पनी मार्फत धान बिक्री गर्ने किसानलाई गोदाम सम्म ल्याउदा बाटोमा सुरक्षा निकायले दुख दिने गरेको गुनासो गरेका छन् ।

खाद्यले धान खरिद गर्न शुरु गरेपछि गोदाम परिसरमा किसानको धान बोकेर आएको ट्याक्टरका लाईन लागेको छ । सरकारले सोना मन्सुली धानको न्यूनतम समर्थन मूल्य ३१२८ रुपैंयामा खरिद गर्ने र जीरा मसिनो धानको ३२५० खरिद गर्ने खाद्य व्यावस्था तथा व्यापार कम्पनीका वीरगन्ज प्रमुख विकास कटुवालले जानकारी दिनुभयो ।

उनका अनुसार २५ क्वीण्टलसम्म धान बिक्री गर्न आउने किसानल स्थानीय तहको कृषि शाखाले दिने सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा लगायतका कागजातहरु पेश गर्नुपर्ने छ । एकजना किसानको ६० क्वीण्टल सम्म मात्रै धान खरिद गर्ने र कार्यालयले खरिद गरेको धानको भुक्तानी आवश्यकता अनुसार २५ क्वीण्टलसम्म नगद वा चेक र सो भन्दा माथि अनिवार्य चेक मार्फत गर्ने प्रमुख कटुवालले बताउनुभयो ।

धानको समर्थन मूल्य निर्धारण गरेको धेरै लामो समयसम्म सरकारले खरिदको व्यावस्था नगर्दा कतिपय किसानले सस्तोमै व्यापारीहरुलाई धान बिक्री गर्न बाध्य भएका थिए ।

अहिले सरकारले धान किनिदिन थालेपछि गोदामसम्म ल्याउनलाई किसानलाई दुखै दुख हुने गरेको छ । गोदाममा पालो पाउनका लागि राति नै धान लिएर घरबाट आउँदा बाटोमा प्रहरीले चेकिङ्गको बाहानानमा रकम माग्ने गरेको र नदिएमा दुःख दिने गरेको किसानको गुनासो छ । बाटोमा सास्ती खेप्दै गोदामसम्म पुर्‍याउँदा पनि पालो कुर्नका लागि सडकमा नै सुत्नुपर्ने बाध्यताले थप पीडा हुने गरेको किसानको गुनासो छ ।

पर्सामा खाद्य व्यावस्था तथा व्यापार कम्पनीले सोना मन्सुली धान १० हजार मेट्रिक टन खरिद गर्ने कोटा पाएको छ । जीरा मसिनो धान २ हजार मेट्रिक टन खरिद गर्ने कोटा पाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले सहकारी संस्था मार्फत धान खरिद गरेको हो ।

पर्सामा दुईवटा सहकारी संस्थाले धान खरिदको लागि अनुमति पाएको छ । परियोजना कार्यालयका प्रमुख गणेश प्रसाद यादवका अनुसार अटल कृषि सहकारी संस्था महुवन र ग्रामीण समाज विकास सुधार सहकारी संस्था छिपहरमाईले धान खरिदको अनुमति लिएका छन् ।

उनीहरुले सोमबार सम्म नौ हजार क्वीण्टल धान खरिद गरिसकेको प्रतिवेदत परियोजना कार्यालयलाई बुझाएको उहाँले बताउनुभयो । परियोजना कार्यालयले पर्सामा ५ हजार मेट्रिक टन धान खरिद गर्ने कोटा पाएको छ ।