वीरगन्ज महानगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण
वीरगन्ज, २ मंसिर । वीरगन्ज महागनगपालिकाले महानगरक्षेत्र भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको विऊ वितरण शुरु गरेको छ । महानगरपालिका क्षेत्र भित्रका किसानहरुलाइ उन्नत जातको गहुँको बिऊ आजबाट वितरण गर्न सुरु गरेको हो ।
महानगरका कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी उत्पादकत्व बढाउन महानगरपालिकाले अनुदानमा गहुँको विऊ वितरण शुरु गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताउनुभयो ।
महानगरपालिका भित्र खेती योग्य जमिनमा गहुँबाली लगाउन कृषकहरुलाइ सहुलियत होस भन्ने उद्देश्यले महानगरपालिकाले ४० टन भन्दा बढी गहुँको बिऊ वितरण गर्ने योजना महानगरको रहेको नगर प्रमुख सरावगीले बताउनुभयो ।
वीरगन्ज महानगरपालिकाले अहिले पहिलो चरणमा एनएल ९७१ जातको गहुँ किसानलाई वितरण गरेको र यसपछि विजय जातको गहुँ वितरण गरिने महानगरपालिकाको कृषि शाखा प्रमुख उर्मिला श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले महानगरपालिकामा अगुवा जातको गहुँको बिऊ वितरण सुरु गरिएको छ । यसपछि पनि समय बाँकी रहेमा एनएल ९७१ नै वितरण गरिने नभए गहुँको पछुवा जात विजय वितरण गरिने योजना रहेको कृषि शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।