वीरगञ्जमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने
वीरगञ्ज, ८ पुष । वीरगञ्जमा राष्ट्रियय स्तरको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । उपत्यका बाहिरकै पहिलो पटक राष्ट्रिय स्तरको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता आर्थिक तथा औद्योगिक नगरी आयोजना हुन लागेको हो ।
वीरगञ्जको मुनलाईट माद्यामिक विद्यालयले नेपाल चेस एशोसिएशन र वीरगञ्ज महानगरपालिकासँगको समन्वयमा यही पुष ९ र १० गते राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुन लागेको छ । प्रतियोगितामा परिवर्तन नेपाल फाउडेशनले पनि सहकार्य गरेको छ ।
काठमाण्डौ, मकवानपुर, रौतहट, सिराहा, झापा, बारा लगायतका जिल्लाहरुबाट १ सय जनाभन्दा धेरै प्रतिस्पर्धीहरुको उपस्थिती हुने अपेक्षा आयोजकको छ । साथै पर्सा जिल्लाका २५ वटाभन्दा बढी विद्यालय तथा कलेजबाट १ सय ५० भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । नेपालकै उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुको अग्रपंक्तिमा आउने बुढानिलकण्ठ स्कुलले पनि यस प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशीको राष्ट्रिय स्तरको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता वीरगञ्जमा हुँदा वीरगन्जको अवस्था, वीरगन्जको सभ्यता, संस्कृतिको पनि प्रचार प्रसार हुने आयोजकले विश्वास लिएको छ ।
वीरगञ्जका विद्यार्थीहरु भ्रमण अवलोकनका लागि काठमाण्डौ लगायतका अन्य शहरमा जाने गरेको भएपनि काठमाण्डौसहित अन्य स्थानका विद्यार्थीहरु वीरगञ्ज बिरलै मात्रै आउने गरेकोले प्रतियोगितामा भाग लिन आउने माध्यमले वीरगञ्ज आउँदा यहाँको पर्यटन विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।
बुद्धिचाल प्रतियोगिताका राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईको पनि यस प्रतियोगितामा उपस्थित रहनेछ । साथै विभिन्न उमेर समूहका राष्ट्रिय स्तरका विजेताहरुको पनि कार्यक्रममा सहभागी रहनेछ । विद्यार्थीहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै उत्कृष्ट नतिजासमेत हात पार्न सफल मुनलाईट माविले पहिलो पटक राष्ट्रिय स्तरकै बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको हो ।
बुद्धिचाल खेलमा रुची भएर पनि अवसर नपाएका र राष्ट्रिय स्तरका र जिल्ला बाहिरका खेलाडीसँग प्रतिस्पर्धा गर्न पाउने अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको टुर्नामेन्ट डाइरेक्टर तथा मुनलाईट माविका प्रबन्ध निर्देशक सुलभ केसीले जानकारी दिनुभयो ।