सातौं प्याब्सन टी–२० क्रिकेटमा मिनील्याण्ड, ज्ञानदा र गौतम विजयी
वीरगन्ज, ७ माघ । वीरगन्ज जारी सातौं प्याब्सन टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा मिनील्याण्ड, ज्ञानदा र गौतम विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा माउन्ट एडमण्ड सेकेण्डरी स्कुललाई ५१ रनले पराजित गर्दैै मिनिल्याण्ड विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको मिनिल्याण्डले पुरै १५ ओभर खेलेर ३ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।
१ सय ६२ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको माउन्ट एडमण्डले पुरै १५ ओभर खेल्दा ९ विकेटको क्षतिमा १ सय १० रन मात्रै बनाउन सक्यो । ३५ बलमा ९ चौका, ३ छक्का सहित ६३ रन बटुल्न सफल मिनिल्याण्डका सोनु पटेल म्यान अफ दी म्याच घोषित भए । त्यस्तै शनिबार नै भएको दोस्रो खलेमा ज्ञानदा एकेडेमी विजयी भएको छ ।
ओम नेशनल एकेडेमीलाई ५ विकेटले पराजित गर्दै ज्ञानदा विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको ओम नेशनल एकेडेमीले १२.४ ओभरमा मात्र ८३ रन बनाएर अलआउट भएको थियो । जवाफी ब्याटिङ गरेको ज्ञानदाले १०.३ ओभर खेल्दै मात्र ५ विकेटको नोक्सानीमा निर्धारित लक्ष्य पूरा गरेपछि विजयी भएको हो ।
खेलमा ज्ञानदाका युवराज सर्राफ म्यान अफ द म्याच घोषित भए । यस्तै, शनिबारको तेस्रो खेलमा गौतम मावि विजयी भएको छ । प्रतिस्पर्धी कंचनजंघा माविलाई पराजित गर्दै गौतम मावि विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको कंचनजंघा दिएको झिनो ६० रनको लक्ष्य बिना कुनै विकेटको नोक्सानी २.४ ओभरमै पूरा गरेपछि गौतम विजयी भएको हो । खेलको म्यान अफ द म्याच गौतमका नितेश चौधरी भए ।
प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत आईतबार नकआउट चरणको एउटा खेल हुनेछ । नकआउट चरणको अन्तिम खेलमा आईतबार सेन्ट जेभियर्स मावि र लिटल एन्जल्स माविबीच हुनेछ । यस्तै, आईतबारबाटै प्रि क्वाटरफाईल अन्तर्गतका खेलहरु हुनेछ । आईतबार मनकामना मावि र गोल्डेन फ्युचर मावि तथा मिनील्याण्ड मावि र जीवन ज्योति मावि बीच प्रिक्वाटर फाईनलको खेल हुनेछ ।
प्रतियोगितामा ८ विद्यालयले सिधैं प्रि क्वाटर फाईनल प्रवेशका लागि बाई पाएको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयको सहभागीता छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।