त्रिकोणात्मक टि–२०आई सिरिजको अन्तिम लिगमा नेपाल विजयी
वीरगन्ज, ६ असोज । यूएईलाई हराउँदै नेपाल त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । फाइनल पुगिसकेको नेपालले यूएईलाई ५ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।
जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालले आफ्नो टि-२०आई क्रिकेट इतिहासमा पूरा गरेको यो सबैभन्दा ठूलो लक्ष्य पनि हो ।
यसअघि नेपालले केन्याविरुद्ध सन् २०२२ मा १ सय ६० रनको लक्ष्य पूरा गरेको थियो । मुलपानी क्रिकेट मैदानमा सोमबार नेपालका लागि ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । कप्तान रोहित पौडेल ४७ रन जोड्दै १८ औं ओभरमा पेभेलियन फर्केका थिए ।
दीपेन्द्रसिंह ऐरीले १४ बलमा ६ चौकर १ छक्कासहित ३९ रन जोड्दै नेपाललाई जितसम्म पुर्याएका थिए । नेपालले सुरुवाती ३ ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्लको साथ गुमाएको थियो । त्यसपछि कप्तान रोहितकुमार पौडेल र आसिफ शेखले ९९ रनको साझेदारी गर्दै नेपाललाई खेलमा कायम राखेका थिए । आसिफले १६ औं ओभरमा आउट हुनुअघि ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
उनी मुहमद जवादुल्लाहको बलमा बोल्ड भएका थिए । त्यसपछि दीपेन्द्र र रोहितले पाँचौ विकेटका लागि १५ बलमा ३७ रनको आक्रामक साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए । इनिङको चौथो बलमा कुशल भुर्तेल मुहमद जवादुल्ल्लाबाट बोल्ड भए ।
दोस्रो ओभरको पाँचौ बलमा सोमपाललाई अकिफ राजाले कट बिहाईन्ड गराए । तेस्रो ओभरमा कुशल मल्ल एक रन जोड्ने क्रममा बसल हमिदबाट नन स्ट्राइक एण्डमा रनआउट हुँदा नेपाल समस्यामा परेको थियो ।
त्यसअघि नेपालले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन जोडेको थियो । यूएईका लागि बसिल हमिद र वृत्य अरविन्दले ४५(४५ रनको योगदान दिए । बसिलले १९ बलमा २ चौका र ५ छक्का प्रहार गरेका थिए ।
इनिङको अन्त्यतिर उनको आक्रामक ब्याटिङकै कारण यूएईले राम्रो योगफल खडा गरेको थियो । त्यसअघि वृत्यले मध्यक्रम सम्हाल्ने क्रममा ५१ बलमा ४ चौका प्रहार गरे । अब सिरिजको फाइनल शुक्रबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । त्यसअघि बुधबार यूएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालको ४ खेलमा ८ अंक हुँदा यूएईको ३ खेलमा २ अंक छ । हङकङ अंकविहिन छ ।