होटल तथा पर्यटन व्यावसायी संघद्वारा प्रजिअ ढकालको बिदाई
वीरगन्ज, ९ माघ । पर्साबाट सरुवा भएर गृहमन्त्रालयमा जानुभएका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले बिदाई गरेको छ । वीरगन्जको होटल पुजनमा कार्यक्रमको आयोजना गरेर प्रजिअ ढकाललाई नेपाली टोपी र खादा लगायर सम्मान सहित बिदाई गरेको हो ।
संघका अध्यक्ष एवं होटल व्यावसायी महासंघका केन्द्रीय सचिव हरि पन्तको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सुरेन्द्रलाल श्रेष्ठ, वीरगन्ज उद्योग वाणिज्य संघको पर्यटन समितिका संयोजक अनुज रुंगटा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतले प्रमुख जिल्ला अधिकारीको कार्यकाल सफल रहेको र उहाँको जनमैत्री व्यवहार सम्झन योग्य भएको बताएका थिए ।
बिदाई समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले वीरगन्जमा पाएको माया र सदभावले थप उर्जा र हौसला मिलेको बताउदै आफू जहाँ भएपनि वीरगन्ज र वीरगन्जका आम नागरिकलाई कहिल्यै नबिर्सिने वाचा गर्नुभयो । उहाँले वीरगन्जका सबै संघ संस्थाहरुको साथ र सहयोगले नै आफ्नो कार्यकाल अत्यन्त सरल, सहज वातावरणमा सफल रहेको अनुभूति सुनाउदै आफू वीरगन्ज छोडेर गएपनि वीरगन्ज र वीरगन्जवासीसँगको सम्बन्ध सधैं रहिरहने बताउनुभयो ।
होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।