प्रहरी बिट अगाडीबाट चोरी, सुरक्षा निकायको चरम लापरवाही
वीरगन्ज, १३ असोज । वीरगन्जको घण्टाघर वरिपरि जडान गरिएको बत्ति चोरी भएको छ । घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन घण्टाघरको वरिपरिको बारमा जडान गरिएको बत्ति गएराति चोरी भएको हो । गत वर्षको तिहारको समयमा घण्टाघरमा झालर नलगाउँदा महानगरको आलोचना भएको थियो ।
महानगरले रङ्गरोगन गरी स्थायी रुपमा बत्ति जडान गरेर आकर्षक बनाइएको घण्टाघरकै बत्ति चोरी भएपछि नगर प्रमुख राजेशमान सिंहले दुख व्यक्त गर्नुभएको छ । बत्ती चोरी भएपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेर उहाँले दुख व्यक्त गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘यसलाई के भन्ने ? म संग कसैको रिस छ म माथि उतार्ने हो ! बीरगंजको सौन्दर्य संग जुटेको कुरालाई तोडेर फ्याँक्नु कति सम्म उचित हो ?’ स्थायी रुपमा बत्ती जडान भएपछि रातको समयमा घण्टाघर उज्यालो र आकर्षक देखिन्थ्यो ।
रातमा पनि सेल्फी खिच्नेहरुको संख्या बढेको थियो । महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले सार्वजनिक सम्पत्तिमा सबैको अधिकार हुने र त्यसको संरक्षण गर्ने पनि सबैको दायित्य भएपनि बत्ती चोरी हुनु दुखद भएको बताउनुभयो ।
आम नागरिकमा सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्छ भन्ने मानसिकताको विकास नभएसम्म वीरगन्जको विकास हुन नसक्ने उहाँले बताउनुभयो । वीरगन्जको मुख्य सडक घण्टाघरमै जडान गरिएको बत्ती चोरी भएपछि सुरक्षा व्यावस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
घण्टाघरको करिब ५० मिटरको दूरीमा प्रहरी बिट भएपनि बार वरिपरी लगाईएको बत्ती चोरी हुनुले प्रहरीको सुरक्षामा गम्भीर लापरवाही भएको आम नागरिकको भनाई छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापासँग जानकारी लिँदा उहाँले बत्ती चोरी भएको विषयमा कुनैपनि जानकारी आफूलाई नआएको प्रतिक्रिया दिनुभयो ।