वीरगंज महानगरपालिको राजस्व संकलनमा वृद्धि

वीरगंज महानगरपालिको राजस्व संकलनमा वृद्धि

सुमन खरेल 

वीरगन्ज, १० पुस । वीरगंज महानगरपालिको राजस्व संकलनमा वृद्धि भएको छ । महानगरले नगरवासीलाई विभिन्न किसिमका सुविधा र सहुलियत दिदै करमैत्री वातावरण बनाएपछि राजस्व संकलनमा वृद्धि भएको महानगरपालिकाको राजश्व शाखाको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष २०७७ को मंसिर मसान्तसम्म १५ करोड ५० लाख  राजस्व संकलन गरेको महानगरले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १८ करोड ७३ लाख राजस्व संकलन गरेको छ । लक्ष्य अनुुसार राजस्व संकलन भएपनि आगामी वर्ष राजस्वको दायरा अझ बढाउने योजना रहेको वीरगंज महानगरपिालिकाको  राजस्व शाखाका प्रमुख अरुण बस्नेतले बताउनुभयो ।

महानगरले करमा छुट दिनुका साथै विभिन्न किसिमका योजनहरु ल्याएर कर तिर्न प्रोत्साहन समेत गर्ने गरेका कारण पनि राजश्व बढेको उहाँले बताउनुभयो । यहीँ पौष मसान्तसम्म सम्पत्ति र व्यवसायीक करमा १० प्रतिशत छुट गरिएका कारण सेवाग्राहीलाई समयमा नै कर तिरेर मौकाको फाइदा उठाउन समेत राजस्व शाखा प्रमुख बस्नेतले आग्रह गर्नुभएको छ ।

आम्दानी हुनेलाई बढी र कम हुनेलाई कम कर लाग्ने गरी वैज्ञानिक कर प्रणाली लागु गर्ने व्यवस्था मिलाईएको नगर प्रमुख विजय कुमार सरावगीले बताउनुभयो ।  त्यस्तै उद्योग, सपिङ मल, अस्पताल र स्कुलहरुलाई लाग्ने सम्पति करमा ५० प्रतिशत छुट गरीएको उहाँले बताउनुभयो । महानगरले आन्तरिक आय बलियो बनाउन हर संभव प्रयत्न गरिएको नगर प्रमुख विजय कुमार सरावगीको भनाई छ ।