क्रिकेट खेलाडी शेख दाजुभाईलाई महानगरद्वारा सम्मान 

क्रिकेट खेलाडी शेख दाजुभाईलाई महानगरद्वारा सम्मान 

वीरगन्ज, ५ चैत । आईसीसी क्रिकेट लिग २ छनोटमा विजयी हासिल गरेको नेपाली टिमका दुई खेलाडीले वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ । वीरगन्जका खेलाडी आरिफ शेख र आशिफ शेखलाई  नगर प्रमुख राजेशमान सिंहले आज कार्यालय परिसरमै स्वागत सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

आइतबार वीरगन्ज महानगरपालिकाकै परिसरमा मेयर राजेशमान सिंहले सहोदर दाजुभाइ समेत रहेका शेखद्वयलाई दोशल्ला ओढाएर स्वागत र सम्मान गर्नुभएको हो। मेयर सिंहले शेखद्वयका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि दोशल्ला ओढाएर सम्मान गर्नुभयो ।

महानगरपालिकावासीको नाताले दुई दाजुभाईले वीरगन्जको मात्रै नभई देशकै नाम उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै महानगरपालिकाले दुवै जनालाई सम्मान गरेको हो । सम्मान गर्दै नगर प्रमुख सिंहले आरिफ शेख र आसिफ शेखले क्रिकेट खेलबाट वीरगन्जलाई देश विदेशमा चिनाउन सफल भएकोमा बधाई दिदै आगामी दिनमा अझै खेलक्षेत्रमा प्रगति गर्न सकोस भन्ने कामना पनि गर्नुभयो ।

त्यसक्रममा मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुर्‍याउन विशेष भूमिका निर्वाह गरेका दुवै खेलाडीलाई वीरगन्ज महानगरले यहि चैत १७ गते वीरगन्जमा भव्य समारोह गरेर नागरिक अभिनन्दन पनि गर्ने घोषणा गर्नुभयो ।

मेयर सिंहले उक्त नागरिक अभिनन्दन समारोहमा सहभागी भइ वीरगन्जका यी दुइ खेलाडीको हौसला बढाइदिन वीरगन्जवासीसंग आह्वान पनि गर्नुभयो । आइतबारको सम्मान कार्यक्रममा मेयर सिंहले वीरगन्ज दुवै खेलाडीले नेपालको नाम अझ उचाईमा पुर्‍याएर वीरगन्ज महानगरको नाम पनि उँचो बनाएको बताउनुभयो ।

महानगरले सम्मान गरेपछि खेलाडीद्वय आसिफ र आरिफले महानगरको यो सम्मानले आफुहरुलाई अझ हौंसला थपिदिएको प्रतिक्रिया दिए । आइतबारको सम्मान कार्यक्रममा वीरगन्ज महानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्ण , वडाध्यक्षहरु बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया , सुरेश गुप्ता, जगत साह कानु लगायतको सहभागिता थियो।