एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले ब्याटिङ गर्दै
वीरगन्ज, ५ बैशाख । मलेसियाले एसिसी प्रिमियर कपको पहिलो खेलमा घरेलु टोली नेपालविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले १० ओभरमा १ विकेट गुमाउँदै ५५ रन बनाएको छ ।
मलेसियाका विरनदीप सिंह २९ बलमा ८ रनमा क्रिजमा छन् । कप्तान अहमद फैज १३ बलमा ४ चौकासहित २१ रनमा क्रिजमा छन् । नेपालले तीव्र गतिका बलर सोमपाल कामीलाई चोभार एण्ड र गुलशन झालाई टियु एण्डबाट सुरुवातमा बलिङ गराएको थियो ।
\मलेसियालाई ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए । गुलशन झाको बलमा कभरमा सट खेल्ने धुनमा आमिर १७ रनमा दीपेन्द्रसिंह ऐरीबाट सहज क्याच आउट भएका थिए ।
उनले १८ बलमा ३ चौका प्रहार गरे । नेपालले आजको खेलमा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जि.सीलाई बेन्चमा राखेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलबाट युएईविरुद्ध मैदान उतारेको प्लेइङ–११ लाई नै निरन्तरता दिएको छ ।
नेपालका सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चिएका छन् । स्पिनर ललित राजवंशीले १ ओभरमा २ रन खर्चिएका छन् । गुलशन झाले ५ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर १ विकेट लिए ।
१० टोली सहभागी प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछ । प्रतियोगिता समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।