तराई होली आज मनाईदै, सडक र बजार सुनसान, मासु पसलमा ग्राहकको भीड
वीरगन्ज, २४ फागुन । सद्भाव र आत्मियता साटासाट गर्दै मनाईने रङैरंङको पर्व फागु अर्थात होली आज विशेष रुपमा मनाईदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलीपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तर तिथिको घटबढका कारण यसपाली तराईमा होली बुधबार मनाईदै छ ।
तराईका जिल्लामा रंग अबिर लगाएर शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । आज मनाईने होलीका कारण वीरगन्जका बजार सुनसान देखिएका छन् । बजारमा रंग अविर लगाएर होली खेल्नेहरु बाहेक खासै मान्छेहरु देखिएका छैनन् । सडकमा सवारी साधनहरु पनि अत्यन्त कम चलेका छन् ।
बजारमा फाटफूट पसलहरु खुलेका बाहेक सबै बजार पसलहरु बन्द रहेका छन् । मासु पसलहरुमा भने बिहान ४ बजेदेखि नै भीड देखिएको छ । होलीमा खसी र कुखुराको मासु बढी खपत हुने हुँदा आज बिहानैदेखि मासु लिने ग्राहकहरुको मासुु पसलहरुमा घुँईचो देखिएको हो ।
मासुसँग पेय पदार्थ र मदिराको पनि अत्यधिक खपत हुने पर्व होली हो । होलीमा धेरैले मदिरा पिउने हुँदा र मदिरा नपिउनेहरुले पनि चिसो पेय पदार्थहरु पिउने गर्दा पेय पदार्थ र मदिराको पनि बिक्री राम्रो हुने गरेको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ ।
होली पर्वसँग त्रेतायुगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर प्रल्हादलाई केही नभएको कथा जोडिन्छ । शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको खुशीयालीमा फागु खेल्ने परम्परा सुरु भएको मानिन्छ ।