सामुदायिक विद्यालयमा छड्के अनुगमन, अनुपस्थित प्रअ र शिक्षकसँग स्पष्टिकरण माग
वीरगंज, १५ असोज । वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयको पठन पाठन चुस्त बनाउन छड्के अनुगमन पुनः सुरु गरेको छ । महानगरको शिक्षा समितिद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादवको नेतृत्वको टोलीले सोमबार वडा नं. १५ र १६ को २ वटा विद्यालयको छड्के अनुगमन गरेको हो ।
विद्यालयको नियमित पठन पाठनको अवस्था, बालबिकास देखि कक्षा ६ सम्मका विद्यार्थीहरुको दिवा खाजाको गुणस्तर, भौतिक पूर्वाधारको अवस्था र सरसफाइ युक्त वातावरण लगाएत समग्र बिद्यालयका अवस्थाका सूचकहरुमा छड्के अनुगमन गरिएको संयोजक यादवले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा वडा नम्वर १५ भिषुवामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा धानाध्यापकसहित ४ जना र वडा नं। १६ को श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय शुक्रराजमा २ जना शिक्षक अनुपस्थित भेटिएका छन् । अनुपस्थित भेटिएका शिक्षकका साथै शुक्रराज आधारभुत विद्यालयका प्रधानाध्यापकको व्यवहार समेत अनुचित देखिएकाले उनलाई पनि स्पष्टिकरण माग गरिएको छ ।
२४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिइएको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछानेले बताउनुभयो । महानगरले यस अघि पनि अनुगमनलाई तिब्रता दिएको थियो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर चुस्त बनाउन अनुगमनलाई निरन्तरता दिने संयोजक यादवले बताउनुभयो ।
अनुगमनमा वडा नम्वर ३० का वडा अध्यक्ष मनोज यादव, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायत रहनु भएको थियो ।