उत्साहित सरकार, निराश निजीक्षेत्र
वीरगन्ज, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले अहिले गरेको भ्रष्टाचार विरुद्धको कारवाहीबाट जति उत्साहित देखिएको छ । त्यति नै निजीक्षेत्र निराश देखिएको छ । सरकारले ठूला ठूला भ्रष्टाचार काण्डको फाईल खोलेर उच्च ओहोदाका व्यक्तिहरुलाई पनि कारवाही गरेर सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा अघि बढेको भनिरहँदा देशको अर्थतन्त्रको प्रमुख खम्बाको रुपमा रहेको निजीक्षेत्रमा भने निराश देखिएको हो ।
सरकारले अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएको भन्दै उत्साहित सरकारले विदेशी मुद्रा सञ्चितीमा पनि उल्लेख्य सुधार भएको दावी गरेको छ । तर, निजीक्षेत्रले भने देशको अर्थतन्त्र ओरालो लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम सरकारले उद्योग व्यापार क्षेत्रको प्रवद्र्धन र विकासका लागि ठोस काम केही नगरेको बताउछन् ।
उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरु कोही कता कोही कता मिल्छन् राजनीतिलाई ठिक ठाउँमा आउला ! तर, देशको व्यापार व्यावसायलाई भने कहिबाट सुधार गर्ने संकेत देखिदैन । हामी त चिन्तामा छौं । बैंकको ब्याज उस्तै छ । उद्योग व्यापारका लागि भनेजति कर्जा बैंकबाट पाईरहेका छैनौं । बजारमा विक्री भएको सामानको बक्यौता उठ्न सकिरहेको छैन । व्यापार व्यावसाय ठप्प जस्तै छ ।’
व्यावसायीहरुले तहगत निकायहरुलाई भेटेर मात्रै आफ्नो दुःख र समस्या बताएका मात्रै छैनन् । उनीहरु पटक पटक सरकारसम्म पनि समस्या लिएर पुगेका छन् । सरकारसँगको भेटघाट र छलफलपछि उनीहरु निकै आशावादी देखिएपनि सरकारको तर्फबाट अझै केही सुधारका संकेतहरु नदेखिएपछि थप चिन्तामा छन् । उनीहरुले सामाजिक सञ्जालमा समेत दुःख पोख्ने गरेका छन् ।
व्यावसायी जगरनाथ प्रसाद कलवार लेख्नुहुन्छ, ‘सेयर बजार ठप्प, घर जग्गा व्यापार ठप्प, गाडी व्यवसाय ठप्प, उद्योग व्यापार ठप्प, ब्याज महंगो, अत्यावश्यक सामान महंगो अब बजेटमा खोजे अनुसारको कर पनि आउदैन विस्तारै भ्रष्टाचार र लुटको भाँडो भर्दैछ । विस्तारै संघीयताको आयु सिद्धिदै छ ।’
उहाँको यो लेखाईले पनि बुझ्न सकिन्छ । व्यवसायीहरु कति तनावमा छन् भनेर । आर्थिक तथा औद्योगिक नगरी वीरगन्जका उद्योगी व्यवासायीहरु सरकारको अहिलेको अर्थनीतिसँग खासै खुशी छैनन् । उनीहरुले सरकारलाई मनाउने प्रयत्न जारी नै राखेका छन् । तथापी बर्षौदेखिको समस्या अहिलेसम्म पनि हल भएको छैन ।
मुख्य प्रवेशद्वार वीरगन्ज नाकाका भन्सारबाट चालू आर्थिक बर्षको राजस्व संकलनको तथ्यांकले पनि निजीक्षेत्रमा दबाव परेको स्पष्ट हुन्छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक बर्षको पहिलो महिना साउनमा अघिल्लो आर्थिक बर्षको साउनमा भन्दा कम संकलन भएको छ । चालू आर्थि बर्षको साउनमा वीरगन्ज भन्सारबाट ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार संकलन भएको छ । यो कूल संकलित राजस्वको ७५.९६ प्रतिशत हो ।
गत आर्थिक बर्षको साउन महिनामा लक्ष्यको ८५.४६ प्रतिशत अर्थात १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार १८० रुपैंया संकलन गरेको थियो । भन्सार विभागले अघिल्लो आर्थिक बर्षमा १५ र्ब २० करोड ७५ लाख ४ हजार ९२० रुपैंयाको लक्ष्य दिएको थियो । त्यस्तै चालू आर्थिक बर्षमा भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार संकलनको लक्ष्य दिएको थियो ।
त्यस्तै सुक्खा बन्दरगाह भन्सार कार्यालयले साउन महिनामा ९६.०१ प्रतिशत राजस्व संकलन गरेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक अनुसार ४ अर्ब ७६ करोड ९९ लाख ५ हजार राजस्व संकलन गरेको छ । सुक्खा भन्सार कार्यालयलाई ४ अर्ब २४ करोड ६३ लाख ३५ हजार राजस्व संकलनका लक्ष्य दिएको छ ।