वीरगन्ज उद्योग वाणिज्य संघको सदस्यमा पन्त निर्विरोध 

वीरगन्ज उद्योग वाणिज्य संघको सदस्यमा पन्त निर्विरोध 

वीरगन्ज, २३ फागुन । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि भएको मनोनयनमा बस्तुगत संघ तर्फबाट हरि पन्त कार्य समिति सदस्यमा निर्विरोध चयन हुनु भएको छ । अस्ती भएको मनोनयन दर्तामा वस्तुगततर्फ कुनै पनि उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

उहाँ होटल व्यवसायी महासंघका सचिव तथा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष समेत हुन् । दावी विरोधको प्रक्रियामा पनि कसैले दावी गरेनन् । निर्वाचन अधिकृतको कार्यालयले उहाँ निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन सम्पन्न भएपछि मात्रै गर्नेछ ।

बस्तुगत संघ तर्फ १ जना कार्य समिति सदस्य रहेकोमा पन्तको मात्रै उम्मेदवारी परेको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ । उद्योग तर्फ १३, वाणिज्य तर्फबाट १६, एशोसियट तर्फबाट ६ र बस्तुगत तर्फबाट १ गरी संघमा ३५ सदस्यीय कार्य समिति रहने प्रावधान छ ।

उद्योगतर्फ १८, वाणिज्य तर्फ २५, एशोसियटतर्फ ८ जना र बस्तुगत तर्फ १ जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले जानकारी दिनुभयो । हिजो मनोनयन फिर्ताको समय र ३० गते कार्य समिति सदस्यका लागि निर्वाचन गर्ने तालिका छ ।

कार्य समिति सदस्य चयन भए लगत्तै पदाधिकारी निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरिने निर्वाचन अधिकृत खरेलले बताउनुभयो । निर्वाचन मार्फत सबैभन्दा पहिला कार्य समिति सदस्य चयन गरिन्छ । कार्य समिति सदस्यहरु मध्येबाटै ११ जना पदाधिकारी चुन्ने व्यवस्था संघको विधानमा छ ।

निवर्तमान अध्यक्ष स्वतः पदेन पदाधिकारी हुन्छन् । पदाधिकारी तर्फ १ जना अध्यक्ष, बरिष्ठ उपाध्यक्ष सहित ३ जना उपाध्यक्ष, महासचिव १ जना, सचिव र सह सचिव २÷२ जना, कोषाध्यक्ष र सह कोषाध्यक्ष १÷१ जना चयन गरिन्छ । कार्य समितिले रोजगारदाता संयोजक चयन गर्ने र उनी नै पदेन उपाध्यक्ष हुनेछन् ।