केपी ओलीलाई मधेस प्रदेशमा ‘बैगुनी केटो’ ले गुन लगायो
वीरगन्ज, २७ असोज । नेकपा एमालेको सातै प्रदेशको अधिवेशन सम्पन्न भएको छ । ओली नेतृत्वलाई खुला रुपमा विरोध गर्न नसकेपनि प्रदेश अधिवेशनमा आन्तरिक विद्रोह भने एमालेमा देखिएको छ । एमाले अध्यक्ष केपी ओलीका निकट मानिने उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रदेशबाट शुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न ओलीले दिएको निर्देशनको पनि अटेर लुम्बिनी प्रदेशबाटै भएको छ ।
लुम्बिनीबाटै शुरुवात भएको ओलीको निर्देशन अटेर कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि मानेको देखिएन । यी ६ वटा प्रदेशमा एमाले अध्यक्ष ओलीलाई झट्का लाग्दा उहाँले मन नपराएको मधेस र ओलीलाई मन नपराउने मधेसमा ओलीले नै नेकपा विभाजन ताका देखिएका वैगुनी केटो एमाले सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराईले गुन लगाउनुभएको छ ।
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को एकतापछि बनेको नेकपा हुँदासम्म पनि नेतृत्वको कडा आलोचना गर्ने योगेश भट्टराई तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । नेकपाभित्र विवाद बढ्न थालेपछि मन्त्री पदमै बहाल रहँदा २०७७ साल पुष ५ गते केपी ओलीले संसद विघटनको सिफारिस गरेर संसद विघटन ग¥यो । त्यसपछि भट्टराई माधव कुमार नेपाल र झलनाथ खनाल सहित १० भाईको कित्तामा उभिनु भयो ।
दोश्रो पटक पनि ओलीले संसद विघटन गरेपछि औपचारिक रुपमा नेकपा पनि विभाजन हुने भएपछि माधव नेपाल र झलनाथ खनाल पक्षले बरु अर्को पार्टी गठन गर्ने तर एमालेमा नफर्कने निर्णयपछि भट्टराई लगायतका नेताहरु उनै ‘बैगुनी केटो’ भनेर अपमानित गर्ने ओली नेतृत्वको पूरानै एमालेमा फर्किए । चितवन महाधिवेशनमा भट्टराईलाई सचिवको जिम्मेवारी पनि दियो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन नेकपा एमालेले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानमा देशभर एमालेको जनमत ६४ प्रतिशत घटेको तथ्यांकहरु बाहिर आएपछि पुनः एमालले प्रदेशहरुमा पदाधिकारीहरुलाई जिम्मेवारी दिने निर्णय गरी योगेश भट्टराईलाई मधेस प्रदेशको इञ्चार्जको जिम्मेवारी दिएर पठायो । मधेस प्रदेशको जिम्मेवारी पाएपछि मधेसमा खटिनुभएका भट्टराईले आठओटै जिल्लामा पुगेर तल्लो तहसम्मको अवस्थाको बारेमा जानकारी लिएर पार्टीलाई सुदृढीकरण, संगठन विस्तार अभियान शुरु गर्नुभयो ।
जसले मधेसमा योगेश भट्टराईलाई प्रभाव जमाउन सहज भयो । मधेस प्रदेश भूगोलका प्रभावशाली नेता तथा एमाले सचिव रघुवीर महासेठ कोशी प्रदेशको इञ्चार्जमा खटाइए उहाँ पनि एमाले ओली नजिकका नेता हुन् । तर, महासेठले ओलीको प्रदेशमा नै सर्वसम्मत नेतृत्व चयन गर्न सक्नुभएन । ६ वटा प्रदेशको अधिवेशन पछि ओलीले चाहेको सर्वसम्मत नेतृत्व चयन मधेसमा भने सफल भएको छ ।
नेकपा एमाले मधेस प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डल, उपाध्यक्षमा विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैसपनि सर्वसम्मत चयन भएका छन् । गत असोज २४ देखि २६ गतेसम्म जनकपुरधाममा भएको एमालेको प्रथम अधिवेशनमा २५ गते बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारीपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा पदाधिकारीहरू सर्वसम्मत चयन भएका हुन् ।
अध्यक्षमा चयन भएका मण्डल ओली निकटका मधेसका प्रभावशाली नेता लिलानाथ श्रेष्ठ निकटका भएको बुझिएको छ । देशभर आफू अनुकूलका नेतृत्वमा सर्वसम्मत चयन गर्ने रणनीतिमा रहेका ओलीलाई ६ ओटा प्रदेशमा धक्का लागेपनि मधेसमा मात्रै आएर सफलता प्राप्त भएको छ । यसमा पनि आफूले पहिले वैगुनी देखेको केटो योगेश भट्टराईले इञ्चार्जसीप गरेको प्रदेश मधेसमा ओलीको सपना पूरा हुँदा मधेसमा ओलीलाई बैगुनी केटोले गुन लगाएको चर्चा चलेको छ ।
े