बाराका रुपेश हत्या प्रकरण : प्रहरीको दावी परिवारद्वारा अस्वीकार

बाराका रुपेश हत्या प्रकरण : प्रहरीको दावी परिवारद्वारा अस्वीकार

बारा १५ कार्तिक । तीन दिन अगाडि बारा कलैया ६ का रुपेश स्वर्णकार हत्याकाण्डमा संलग्न रहेको भन्दै बारा प्रहरीले पत्रकारसम्मेलन गरी ५ जनालाई सार्वजनिक गरेको छ ।

बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बुधबार पत्रकारसम्मेलन गरी २ जना भारतीयसहित ५ जनालाई सार्वजनिक गरेका हुन् । प्रहरीले हत्यामा सहयोगी भूमिका रहेको भन्दै भारत विहार घोडासहनका अभिनव कुमार राजपुत, चन्दन कुमार र बारा कलैयाका रियाज अन्सारी तथा जामिल अख्तर तथा प्रमिका भनिएका राधा गुप्तालाई सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुको सहयोगी भूमिका मात्रै रहेको र मुख्य सुटरहरु भने फरार रहेको प्रहरी उपरीक्षक काफ्लेले पत्रकार सम्मेलनमा बताउनु भएको छ । उहाँका अनुसार पक्राउ परेका भारतीयहरु मुख्य सुटरलाई सूचना अदानप्रदान गर्ने काम मात्रै गरिरहेका थिए । तर मुख्य सुटर भने अहिलेसम्म पक्राउ परेको छैन ।

मोतिहारी जिल्ला दर्पा थानाका सुजित कुमार सिंह, चन्दन पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनी मुख्य सुटर रहेको भन्दै यी ४ जनाको नाम प्रहरीले सार्वजनिक गर्‍यो, तर यिनीहरु अहिलेसम्म फेला पर्न सकेको छैन । तरपनि सबैको खोजी कार्य भने जारीरहेको प्रहरी बताउँछ । चाँडो भन्दा चाँडो हामी मुख्य अपराधीलाई पक्रिने तयारीमा रहेको प्रहरी प्रमुख काफ्लेको दाबी छ।

बारा प्रहरीले पत्रकार सम्मेलनमार्फत प्रेम सम्बन्ध देखाएर सार्वजनिक गरेका धारणाप्रति मृतकका परिवारजनले असन्तुष्टि जनाएका छन्। उनीहरुले प्रहरीको प्रतिक्रियाले झन पीडा थपेको बताएका छन् । बारा प्रहरीले बुधबार गरेको पत्रकार सम्मेलनपछि मृतकका परिवारले प्रहरी अनुसन्धानले चरित्र हत्या मात्रै गरिरहेको र त्यो गलत भएको भन्दै प्रहरीको दावीलाई अस्वीकार गरेका छन् ।

शोकाकूल परिवारले विज्ञप्ति नै जारी गरेर ८ बुँदे असन्तुष्टि जनाएको छ । उनीहरुले जारी गरेको विज्ञप्तिमा केही दिन अघि पचरौतामा घटेको घटना संलग्न व्यक्तिहरुको नाम र मोटरसाईकल नम्बरलाई पनि यो घटनामा जोडेर सत्यतथ्य ढाकछोप गन खोजेको आरोप लगाएको छ ।

दिनदहाडै भएको हत्याको घटनाले सृजित सुरक्षा चुनौतीलाई थेग्न नसक्ने अवस्थाबाट मुक्ति पाउनका लागि घटनालाई अन्यत्र मोड्न खोजेको, विना प्रमाण मृतकको चरित्र हत्या गरेको, हत्यामा संलग्नहरुलाई सार्वजनिक गछौं भनेर मृतकको शव बुझ्न लगाई दाहसंस्कार गर्न दबाव दिएको तर, जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रमाण समेत दिन नसकेको परिवारको गुनासो छ ।

त्यसैगरी गोली प्रहार भएपछि घाईते भएका रुपेशलाई अस्पताल पु¥याउने विद्यालयका कर्मचारी रियाज अन्सारी र घटनास्थलमा हुदै नभएका अर्का कर्मचारी जमिल अख्तर अन्सारीलाई फसाउन खोजेको, शान्ति सुरक्षा कायम गर्न नसकेको प्रश्न प्रहरी प्रशासनमाथि उठ्ने भएपछि त्यसबाट उम्कन आम जनताको आँखामा भ्रम सृजना गर्न खोजिएको,

प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको अभिव्यक्तिमा समानता नभएको तथा दोषीहरुको दोषलाई प्रहरीले उजागर गर्न नसकेको परिवारजनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।