कोभिड संकटमा बढी भाडा असुल्ने दुईजना एम्बुलेन्स चालक पक्राउ 

कोभिड संकटमा बढी भाडा असुल्ने दुईजना एम्बुलेन्स चालक पक्राउ 

वीरगन्ज, १ जेठ । कोरोना भाईरस संक्रमणको महासंकटमा पनि परोपकारी सेवाका लागि सञ्चालन गरिएको एम्बुलेन्स चालकहरुले भने दुरुपयोग गरेका छन् । बिरामी बोक्दा बढी भाडा लिने दुईजना एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा जिल्लामा सञ्चालनमा रहेका कतिपय एम्बुलेन्स चालकहरूले कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिको फाइदा उठाउने मनसायले सङ्क्रमित व्यक्ति तथा सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरिरहेको सूचना प्रहरीले पाएपछि परिचालन गरिएको प्रहरीले सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुलेको फेला पारेपछि २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ना.२ च. ३२५६ र  ना. ३ च.  ८१९९ नंका २ वटा एम्बुलेन्स सहित पर्सा बहुदरमाई न.पा. वडा नं. ९ विश्रामपुरका बर्ष ३५ का कमरुदिन रायभर र विन्दवासिनी गाउँपालिका वडा नं.- १ का २२ बर्षीय वीरबल मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुलाई बीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित नेशनल मेडिकल कलेज बाहिर सडकबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरु विरुद्ध कालाबजारी ऐन अन्तर्गत कारवाहीका लागि अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ । यसैबीच प्रहरीले पर्सा जिल्लाभित्र कुनै पनि व्यावसाय वा सेवा प्रदायकले सेवाग्राहीहरूलाई कुनै सामान वा सेवा प्रदान गरेबापत तोकिएको दरभन्दा बढी मूल्य लिएमा जिल्ला प्रहरी कार्यालय पर्सामा तत्काल सूचना दिन अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले सूचना दिएर कालाबजारी नियन्त्रण गर्ने कार्यमा सहयोग गरिदिनहुन समेत सम्बन्धित सबैमा अनुरोध गरेको छ ।